काठमाडौं । शिवरात्रिको भोलिपल्ट पशुपतिनाथ परिसरमा शंकास्पद अवस्थामा भेटिएको एक युवकको मृत्यु प्रकरणमा प्रहरीले चार महिनापछि चकित पार्ने तथ्य सार्वजनिक गरेको छ। प्रहरीका अनुसार संखुवासभाका अन्दाजी २५ वर्षीय सन्तोष परियारको हत्या मोबाइल चोरीको आरोप र अन्धविश्वाससँग जोडिएको घटनाबाट भएको देखिएको छ।घटनामा संलग्न रहेको आरोपमा धादिङका द्रव्यनाथ बाबा भनिने सुविन राना मगर पक्राउ परेका छन्। उनी महोत्तरीबाट पक्राउ परेका हुन्।
अनुसन्धानका क्रममा शिवरात्रिमा पशुपति आएका एक भारतीय बाबाको मोबाइल हराएपछि सन्तोषमाथि चोरीको शंका गरिएको खुलेको छ। प्रहरीले सोधपुछपछि छाडेका सन्तोषलाई पछि बाबाहरूले आफ्नो नियन्त्रणमा लिएर रातभर कुटपिट गरेको आशंका गरिएको छ। प्रहरी स्रोतका अनुसार कुटपिटपछि गम्भीर घाइते भएका सन्तोषको मृत्यु भएको देखिएको छ। घटनामा अर्को भारतीय बाबा अनुपनाथको पनि संलग्नता देखिएको छ। तर उनी घटनालगत्तै भारत फरार भएको र हालसम्म पक्राउ नपरेको प्रहरीले जनाएको छ। अनुसन्धानमा अर्को गम्भीर पक्ष पनि खुलेको छ।
प्रहरीका अनुसार केही बाबाहरूबीच पशुपति क्षेत्रमा विशेष पूजा वा भोगका माध्यमबाट तान्त्रिक शक्ति प्राप्त हुने अन्धविश्वास रहेको र यही विश्वासले पनि घटनालाई प्रभावित गरेको हुनसक्ने देखिएको छ। शिवरात्रिको भीडभाडमा सामान्य चोरीको आशंकाबाट सुरु भएको विवाद अन्ततः एक युवकको ज्यान जाने घटनामा परिणत भएको प्रहरीको प्रारम्भिक निष्कर्ष छ।






































