काठमाडौं— सर्वोत्तम पेन्ट्स इन्डष्ट्रिज लिमिटेडले पहिलो चरणअन्तर्गत आजदेखि आईपीओ निष्कासन गरेको छ । कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकलाई लक्षित गर्दै ८५ हजार कित्ता साधारण शेयर सार्वजनिक गरेको हो ।
जारीपूँजी ३४ करोड रुपैयाँको २५ प्रतिशत बराबर ८ लाख ५० हजार कित्तामध्ये १० प्रतिशत शेयर उक्त समूहका लागि छुट्याइएको छ । प्रतिकित्ता १०० रुपैयाँ अंकित दर रहेको छ ।
यस आईपीओमा वैशाख २४ गतेसम्म आवेदन दिन सकिनेछ भने आवश्यक परेमा जेठ ४ गतेसम्म समय थप हुनेछ । लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम ५ हजार कित्तासम्म आवेदन दिन सक्नेछन् ।
आवेदन मेरो शेयरमार्फत सि–आस्वा प्रणाली प्रयोग गरी दिन सकिनेछ । निष्कासन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल रहेको छ । कम्पनीले पहिलो चरणपछि सर्वसाधारणका लागि पनि आईपीओ निष्कासन गर्ने जनाएको छ ।






































