काठमाडौं— खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले गुणस्तरहीन तोरी तेल बजारबाट फिर्ता गर्न आदेश दिएको छ ।
बजार अनुगमनका क्रममा संकलन गरिएको तोरी तेलको नमुना प्रयोगशालामा परीक्षण गर्दा न्यूनस्तरको पाइएपछि उक्त उत्पादन तत्काल बजारबाट फिर्ता गर्न विभागले निर्देशन दिएको हो ।
विभागद्वारा जारी सूचनाअनुसार आर्थिक वर्ष २०८१ / ८२ मा संकलित नमुनामध्ये आयातित कच्चा तेलबाट उत्पादित तोरी तेल परीक्षणका क्रममा नेपाल खाद्य स्वच्छता तथा गुणस्तर मापदण्डअनुसार नभएको पाइएको उल्लेख छ ।
सूचनामा उत्पादन मिति २०८२ पुस २६ र उपभोग्य मिति ६ महिना रहेको २० लिटर क्षमताको उक्त तेलको उत्पादक कम्पनी सिद्धार्थ आयल प्रोडक्ट्स, रूपन्देही रहेको जनाइएको छ ।
विभागले सम्बन्धित उत्पादकलाई बजारमा बिक्री वितरण नगर्न/नगराउन तथा बिक्री भइसकेको उत्पादन तत्काल फिर्ता गर्न आदेश दिएको जनाएको छ । साथै, उपभोक्तालाई पनि यस्ता उत्पादन प्रयोग गर्दा सतर्कता अपनाउन आग्रह गरिएको छ ।







































