पोखरा । प्राकृतिक सौन्दर्यले भरिपूर्ण बेगनासतालमा छैटौँ संस्करणको खुला पुरुष तथा महिला डुङ्गा दौड प्रतियोगिता सुरु भएको छ। पोखरा महानगरपालिका–३१ स्थित ताल क्षेत्रमा जेठ २७ गतेदेखि प्रतियोगिताको औपचारिक शुभारम्भ गरिएको हो।
बेगनासताल डुङ्गा व्यवसायी समितिको आयोजनामा भइरहेको प्रतियोगिताले तालको पर्यटन प्रवर्द्धनसँगै जल सुरक्षाबारे जनचेतना फैलाउने लक्ष्य राखेको छ। आयोजकका अनुसार प्रतियोगिताले बेगनासताललाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा थप चिनाउने विश्वास गरिएको छ।
प्रतियोगिताअन्तर्गत पुरुषतर्फ करिब दुई किलोमिटर दूरीमा प्रतिस्पर्धा हुनेछ भने महिलातर्फ एक किलोमिटर दूरीमा दौड सञ्चालन गरिनेछ। तालको बीचभागसम्म पुग्ने चुनौतीपूर्ण र रोमाञ्चक प्रतिस्पर्धाले दर्शकलाई विशेष आकर्षित गर्ने अपेक्षा गरिएको छ।
नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालयको प्रवर्द्धनमा भइरहेको प्रतियोगितामा महिला र पुरुष गरी २२ टोली सहभागी हुने अनुमान छ। प्रत्येक टोलीमा तीन–तीन जना डुङ्गा चालक रहनेछन्।
प्रतियोगिताका विजेताहरूका लागि नगद पुरस्कारको व्यवस्था गरिएको छ। प्रथम हुने टोलीले १५ हजार रुपैयाँ, दोस्रोले १० हजार रुपैयाँ, तेस्रोले ५ हजार रुपैयाँ तथा सान्त्वना स्थान हासिल गर्ने टोलीले ३ हजार रुपैयाँसहित प्रमाणपत्र प्राप्त गर्नेछन्। आयोजकहरूका अनुसार खेल पर्यटनको विकास, स्थानीय अर्थतन्त्र चलायमान बनाउने र बेगनासतालको पहिचान थप सशक्त बनाउने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।
।






































