काठमाडौं— काठमाडौँ उपत्यकामा ट्राफिक नियम उल्लङ्घन गर्ने दुई हजार २५ जना सवारीचालकलाई एकै दिन कारबाही गरिएको छ। उक्त कारबाहीबाट राज्यकोषमा रु १० लाख ४८ हजार ५०० राजस्व संकलन भएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ।

ट्राफिक प्रहरीका प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेशराज सुवेदीका अनुसार मादक पदार्थ सेवन गरेर सवारी चलाउने १०० जना, नियमविपरीत ‘राइड सेयरिङ’ गर्ने १०७ जना, ट्राफिक बत्ती उल्लङ्घन गर्ने १३६ जना र तीव्र गतिमा सवारी चलाउने १६५ जनामाथि कारबाही गरिएको हो।

यस्तै, लेन अनुशासन उल्लङ्घन गर्ने ५८ जना, निषेधित क्षेत्रमा हर्न बजाउने १०९ जना, सडक पेटीमा पार्किङ गर्ने १०५ जना, एकतर्फी सडकमा सवारी चलाउने ११७ जना तथा अन्य विभिन्न ट्राफिक नियम उल्लङ्घन गर्ने एक हजार १२८ जनासहित कुल दुई हजार २५ जना चालक कारबाहीमा परेको प्रहरीले जनाएको छ।

ट्राफिक प्रहरीले सवारी नियमको पालना गर्न तथा सुरक्षित र व्यवस्थित यातायात सञ्चालनमा सहयोग गर्न सबै चालकलाई आग्रह गरेको छ।