काठमाडौं— मुस्ताङमा दुई सातादेखि सशस्त्र प्रहरीको नियन्त्रणमा रहेका बीवाईडी कम्पनीका विद्युतीय सवारीसाधन अन्ततः फुकुवा भएका छन्। प्रधानमन्त्री कार्यालय र अर्थ मन्त्रालयबीच देखिएको मतभेद अन्त्य भएसँगै सरकारले गठन गरेको छानबिन समितिले आयात प्रक्रियामा कुनै अनियमितता नभेटिएको प्रतिवेदन दिएपछि जोमसोम र कोरलानाकामा रोकिएका गाडी सम्बन्धित पक्षलाई जिम्मा लगाइएको हो।
कोरलानाका हुँदै नेपाल भित्रिएका ७७५ विद्युतीय सवारीमध्ये अधिकांशको भन्सार प्रक्रिया पूरा भइसकेको छ भने नियन्त्रणमा रहेका गाडी क्रमशः गन्तव्यतर्फ पठाइँदै छन्। जोमसोम बसपार्कमा राखिएका २६६ सवारीमध्ये २२३ गन्तव्यतर्फ पठाइसकिएको र बाँकी सवारीको भन्सार प्रक्रिया पूरा गरी छिट्टै पठाइने तयारी भइरहेको सशस्त्र प्रहरीले जनाएको छ।






































