देशबन्धु बिश्वामित्र ------


हामीले पशुको मांस खायौँ,

हामीले उसको मांस मात्र खाएनौँ,

उसको शरीर खाएनौँ,

उ भित्र रहेको भय,

मर्ने बेलाको पीडा,

र अन्तिम साससँगै निस्किएको मौन चिच्याहट पनि

हामीले ग्रहण गर्‍यौँ।


थालमा सजिएको मासु

हामीलाई परिकारजस्तो लाग्यो,

तर त्यसको कथामा

एउटा धड्किरहेको मुटु थियो,

एउटा निर्दोष नजर थियो,

आमाको काख खोज्ने बानी थियो,

घाममा रमाउने चाहना थियो,

र बाँच्न चाहने

हामीजस्तै एउटा जीवन थियो।


उसले कहिल्यै युद्ध घोषणा गरेन,

कसैको सपना लुटेन,

कसैको घर जलाएन,

कसैको अधिकार खोसेन।

उसको अपराध केवल यति थियो

ऊ कमजोर थियो,

र हामी शक्तिशाली बन्यौ ।


जब उसको घाँटीमा हतियार चल्यो,

पृथ्वीले एउटा काँपेको सास सुन्यो।

आकाशले एउटा मौन प्रार्थना देख्यो।

उसका आँखाभरि प्रश्न थिए—

“मैले कसको के बिगारेँ?”

तर त्यो प्रश्नको उत्तर

मानवताको पुस्तकमा अझै लेखिएको छैन।


हामीले उसको रगतसँगै

आफ्नो करुणाको एउटा अंश पनि बगायौँ।

हामीले उसको मृत्युमा

आफ्नो संवेदनाको एउटा फूल पनि चुँडायौँ।

र बिस्तारै बिस्तारै

हामीले आफूभित्रको दयालाई

स्वादको वेदीमा चढाउन थाल्यौँ।


कुनै जीव मर्न चाहँदैन,

जसरी हामी मर्न चाहँदैनौँ।

कुनै आँखा आँसु बगाउन चाहँदैन,

जसरी हाम्रो आँखाले पीडा सहन चाहँदैन।

दुःखको भाषा फरक हुन सक्छ,

तर पीडाको अर्थ एउटै हुन्छ।

चाहे त्यो मानवको हृदयमा उठोस्

वा कुनै निरीह पशुको छातीभित्र दन्कोस ।


एकछिन मनको ढोका खोलेर हेरौँ,

यदि हाम्रो ठाउँमा ऊ हुन्थ्यो

र उसको ठाउँमा हामी,

के हामी आफ्नो मृत्युको भोज स्वीकार्थ्यौँ?

के हामी आफ्नो डरलाई

कसैको स्वाद बन्न दिन्थ्यौँ?


मानवताले  मानिसलाई मात्र अँगाल्दैन,

उसले हरेक धड्कनलाई सम्मान गर्छ।

साँचो सभ्यता अग्ला भवनमा होइन,

निर्बलप्रतिको व्यवहारमा देखिन्छ।

साँचो धर्म मन्दिरका घण्टीमा होइन,

कम्पित प्राणप्रतिको करुणामा भेटिन्छ।


आऊ,

हामी थालमा राखिएको स्वादभन्दा माथि उठौँ।

हामी जीवनलाई जीवनकै रूपमा हेरौँ।

कुनै जीवको मृत्युमा आफ्नो उत्सव नखोजौँ।

कुनै निर्दोषको चिच्याहटलाई

भोजनको सुगन्धले नढाकौँ।


किनकि हामीले पशुको मांस खाँदा उसको शरीर मात्र खाँदैनौँ,

उसको भय, उसको पीडा,

उसको बाँच्न चाहने अन्तिम चाहना पनि

आफ्नो आत्माभित्र उतारिरहेका हुन्छौँ।


त्यसैले करुणा रोजौँ,

अहिंसा रोजौँ,

जीवन रोजौँ।


ताकि भविष्यले भन्न सकोस्—

मानिस सबैभन्दा शक्तिशाली प्राणी थियो,

तर उसको महानता

मार्नमा होइन,

बचाउनमा थियो।

र उसले अन्ततः सिक्यो—

हरेक जीवन पवित्र हुन्छ,

र कुनै पनि प्राणको मृत्यु

कहिल्यै भोजको उत्सव बन्नु हुँदैन।

भद्रपुर-८ झापा