काठमाडौं— फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘के’ को खेलमा कोलम्बियाले उज्वेकिस्तानलाई ३–१ ले पराजित गरेको छ।

मर्सिडिज बेन्ज स्टेडियममा बिहीबार भएको खेलमा कोलम्बियाका लागि ४०औँ मिनेटमा डिएगो मुनोज, ६५औँ मिनेटमा लुइस डियाज , ९० औँ मिनेटमा जोन काम्पाजले गोल गरे उज्बेकिस्तानका लागि ६०औँ मिनेटमा अजीजबेक फैजुल्लाएभले गोल गरे । 

खेलको पहिलो हाफमा दुवै टोलीले केही अवसर सिर्जना गरे पनि कोलम्बियाले ४०औँ मिनेटमा अग्रता बनाएको थियो।

डिएगो मुनोजले लुइस डियाजको पासमा गोल गर्दै टोलीलाई १–० को अग्रता दिलाए। त्यसपछि पहिलो हाफमा थप गोल हुन नसक्दा कोलम्बिया १–० ले अघि रहँदै विश्राममा गएको थियो।

दोस्रो हाफको ६०औँ मिनेटमा अजीजबेक फैजुल्लाएभले गोल गर्दै उज्बेकिस्तानलाई खेलमा फर्काए। उनको गोलसँगै खेल १–१ को बराबरीमा पुगेको थियो।

तर बराबरीको पाँच मिनेटपछि नै कोलम्बियाले पुनः अग्रता लियो। ६५औँ मिनेटमा लुइस डियाजले गुस्ताभो पुर्ताको पासलाई सदुपयोग गर्दै गोल गरेपछि कोलम्बिया २–१ ले अघि बढ्यो।

त्यसपछि उज्बेकिस्तानले बराबरी गोलको प्रयास गरे पनि सफल हुन सकेन। खेलको इन्जुरी समयको नवौँ मिनेटमा जोन काम्पाजले जुआन कामिलो हेर्नान्देजको पासमा गोल गर्दै कोलम्बियाको जित सुनिश्चित गरे।

यस जितसँगै कोलम्बियाले समूह ‘के’ मा महत्वपूर्ण तीन अंक जोडेको छ भने उज्बेकिस्तान अंकविहीन बनेको छ।