तेहरान— इरानले विश्वकै महत्वपूर्ण जलमार्गमध्ये एक मानिने होर्मुज स्ट्रेट पुनः बन्द गर्ने घोषणा गरेको छ। लेबनानमा जारी इजरायली सैन्य आक्रमण तथा युद्ध अन्त्यसम्बन्धी प्रतिबद्धता पूरा गर्न अमेरिकाले असफल भएको आरोप लगाउँदै तेहरानले उक्त निर्णय सार्वजनिक गरेको हो।

इरानी विदेश मन्त्रालयका अनुसार अमेरिका पूर्व सहमतिप्रति पूर्ण रूपमा प्रतिबद्ध नभएसम्म क्षेत्रको अवस्था सामान्य हुन नसक्ने जनाएको छ। यसअघि अमेरिका र इरानबीच भएको अन्तरिम समझदारीपछि होर्मुज स्ट्रेट सञ्चालनमा आएको थियो, तर पछिल्लो घटनाक्रमले उक्त सहमति नै संकटमा परेको संकेत गरेको छ।

उता, दक्षिणी लेबनानमा इजरायलले गरेको हवाई आक्रमणमा दुई बालबालिकासहित कम्तीमा १६ जनाको ज्यान गएको बताइएको छ। इजरायलले हिजबुल्लाहको क्षेप्यास्त्र आक्रमणको प्रतिकारस्वरूप कारबाही गरिएको जनाएको छ भने हिजबुल्लाहले इजरायलमाथि युद्धविराम उल्लंघन गरेको आरोप लगाएको छ।

विश्वव्यापी तेल आपूर्तिको प्रमुख मार्गका रूपमा रहेको होर्मुज स्ट्रेट बन्द हुने निर्णयले अन्तर्राष्ट्रिय ऊर्जा बजारमा गम्भीर असर पर्न सक्ने भन्दै विश्व समुदायले चिन्ता व्यक्त गर्न थालेको छ।