काठमाडौं । भारततर्फ हुने नेपाली चियाको निर्यात एक सातादेखि पूर्ण रूपमा रोकिएको छ। भारतको टी बोर्डले लागू गरेको नयाँ निर्देशिकापछि नेपाली चिया भारतीय बजारमा प्रवेश गर्न नपाउँदा चिया उद्योग संकटमा परेका छन्।
उद्योगीहरूका अनुसार भारतले प्रयोगशाला परीक्षण अनिवार्य गरेपछि चिया निर्यात प्रक्रिया जटिल बनेको छ। परीक्षणको रिपोर्ट आउन नै करिब १५ दिन लाग्ने भएकाले निर्यात प्रभावित भएको हो।
यसको प्रत्यक्ष असर नेपालका १५२ चिया उद्योगमा परेको छ। उद्योगहरू बन्द हुने अवस्थामा पुगेका छन् भने करिब २ लाख श्रमिकको रोजगारी संकटमा परेको बताइएको छ। अहिले भारतमा पुगिसकेको ३ लाख किलोग्राम नेपाली चिया गोदाममै थन्किएको छ। यता नेपालबाट निर्यातका लागि तयार १२ लाख किलोग्राम चिया पनि गोदाममै रोकिएको छ।
व्यवसायीहरूका अनुसार समस्या लम्बिए चिया गुणस्तर घट्ने, बिग्रिने र ठूलो आर्थिक क्षति हुने जोखिम छ। अझ परीक्षणमा असफल भए चिया फिर्ता ल्याउँदा अतिरिक्त भन्सार शुल्क तिर्नुपर्ने बाध्यता पनि रहेको उनीहरूको गुनासो छ।
नेपालको चिया क्षेत्र मुख्य रूपमा भारतीय बजारमा निर्भर रहेकाले निकासी अवरुद्ध हुँदा सम्पूर्ण उद्योग नै प्रभावित भएको छ। उद्योगीहरूले कूटनीतिक र सरकारी तहबाट तत्काल पहल गरी समस्या समाधान गर्न माग गरेका छन्।






































