चितवन। चितवनमा जारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनमा आजदेखि नेतृत्व चयनको प्रक्रिया सुरु हुँदैछ। यसका लागि पार्टीले ८० वटा विद्युतीय उपकरणमार्फत मतदान गराउने तयारी गरेको छ।
निर्वाचन आयोगका प्रमुख भुवन केसीका अनुसार उम्मेदवारहरूको अन्तिम सूची सार्वजनिक भएपछि उपकरणमा नाम र तस्बिर समावेश गरिनेछ र त्यसपछि मतदान सुरु हुनेछ। मतदानअघि प्रतिनिधिहरूलाई प्रणालीबारे जानकारी दिन पाँच वटा उपकरणबाट नमुना मतदानसमेत गराइनेछ।
केन्द्रीय सदस्य पदका लागि ४०० भन्दा बढी उम्मेदवार मैदानमा रहेका कारण मतदान प्रक्रिया केही लामो हुन सक्ने अनुमान गरिएको छ। विभिन्न क्लस्टरका उम्मेदवारसमेत छनोट गर्नुपर्ने भएकाले मतदाताले एकभन्दा बढी विकल्प रोज्नुपर्नेछ।
पहिलो चरणमा ९९ जना केन्द्रीय सदस्य चयनका लागि मतदान हुनेछ। निर्वाचन आयोगले मतदान सम्पन्न भएको करिब दुई घण्टाभित्र नतिजा सार्वजनिक गर्ने तयारी गरेको जनाएको छ।
रास्वपाले पहिलोपटक महाधिवेशनमा विद्युतीय मतदान प्रणाली प्रयोग गर्न लागेको हो, जसलाई पार्टीभित्र पारदर्शी र छिटो मतगणनाको अभ्यासका रूपमा हेरिएको छ।





































