काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो महाधिवेशन अपेक्षाभन्दा लामो समयसम्म जारी रहँदा त्यसको प्रभाव संघीय संसद्मा समेत देखिएको छ। प्रतिनिधिसभाको शुक्रबार दिउँसो १ बजे बस्ने तय भएको बैठक अन्तिम समयमा स्थगित गर्दै शनिबार बिहान ११ बजेसम्मका लागि सारिएको हो।
सत्तारूढ दलकै महाधिवेशन नसकिएकाले संसद्को कार्यसूची प्रभावित भएको यो लगातार दोस्रो घटना हो। यसअघि पनि बैठकको मिति परिवर्तन गरिएको थियो।
आजको बैठकमा सरकारले प्राथमिकतामा राखेका विभिन्न विधेयक अघि बढाउने तयारी थियो। सार्वजनिक खरिद (दोस्रो संशोधन), सम्पत्ति शुद्धीकरण (मनि लाउन्डरिङ) निवारण (तेस्रो संशोधन), सहकारी (पहिलो संशोधन) तथा स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्बन्धी संशोधन विधेयक सदनमा पेस गर्ने कार्यसूची तय गरिएको थियो।
यस्तै, महालेखा परीक्षकको ३९औँ वार्षिक प्रतिवेदन संसद्मा प्रस्तुत गर्ने कार्यक्रम पनि स्थगित भएको छ। आर्थिक विधेयक, २०८३ माथि प्राप्त संशोधनमाथि निर्णय गर्ने तथा राष्ट्र ऋण उठाउने विधेयकमाथि दफावार छलफल र पारित गर्ने प्रक्रिया पनि बैठक नबस्दा अघि बढ्न सकेन।
रास्वपाको महाधिवेशनमा नेतृत्व चयन र अन्य आन्तरिक प्रक्रिया अझै जारी रहेकाले संसद्को नियमित कामकारबाहीसमेत प्रभावित बनेको हो। अब शनिबार बस्ने प्रतिनिधिसभा बैठकबाट रोकिएका विधेयक र अन्य कार्यसूची अघि बढ्ने अपेक्षा गरिएको छ।




































