काठमाडौं— उचित पुनर्स्थापना र दीर्घकालीन व्यवस्थापनको माग गर्दै सुकुम्वासीहरूले शुक्रबार काठमाडौंको माइतीघरमा विरोध प्रदर्शन गरेका छन्। होल्डिङ सेन्टरबाट वैकल्पिक व्यवस्था नगरी बाहिरिन निर्देशन दिइएको भन्दै सुकुम्वासी केन्द्रीय संयुक्त संघर्ष समितिको नेतृत्वमा प्रदर्शन गरिएको हो।

अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिले सूचना जारी गर्दै होल्डिङ सेन्टर खाली गर्न दिइएको समय असार १९ गतेसम्म थप गरेको छ। उपत्यकाका नदी किनारका बस्तीहरू गत वैशाखमा हटाइएपछि प्रभावित परिवारहरूलाई अस्थायी रूपमा होल्डिङ सेन्टरमा राखिएको थियो।

समितिले घरभाडाको व्यवस्था गरिने जानकारीसहित होल्डिङ सेन्टर खाली गर्न भनेपछि त्यहाँ बसिरहेका सुकुम्वासीहरूले त्यसको विरोध गरेका हुन्। उनीहरूको भनाइमा स्थायी पुनर्स्थापनाको सुनिश्चितता नगरी अस्थायी आश्रयबाट समेत हटाउन खोजिएकोले आफूहरू आन्दोलनमा उत्रिन बाध्य भएका हुन्।

संघर्ष समितिले सरकारसँग तत्काल उचित बसोबासको व्यवस्था गर्न माग गर्दै त्यसो नभए आफूहरू पहिले बस्दै आएको स्थानमै फर्केर बस्न बाध्य हुने चेतावनी पनि दिएको छ।