काठमाडौं— राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नवनिर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यहरूको शपथग्रहण शुक्रबार (आज) साँझ हुने भएको छ।
चितवनको भरतपुरमा सम्पन्न प्रथम राष्ट्रिय महाधिवेशनबाट निर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यहरूको शपथग्रहण हुन लागेको हो।
सबै नवनिर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यहरूको शपथग्रहण कार्यक्रम साँझ ६ः३० बजे महाधिवेशन स्थलको हलमा हुने महाधिवेशन आयोजक समितिल जनाएको छ।
महाधिवेशन आयोजक समितिले शपथग्रहण कार्यक्रममा सहभागी हुन सबै निर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यहरूलाई अनुरोध गरेको छ। आइतबारदेखि सुरू भएको रास्वपाको प्रथम राष्ट्रिय महाधिवेशन शुक्रबार सम्पन्न हुँदैछ।
एक जना महिला उपसभापति, एक जना महामन्त्री र तीन जना सहमहामन्त्रीका चयन गर्न भएको निर्वाचनको मत परिणाम आउन बाँकी छ। यी पदाधिकारीहरूको मतपरिणाम आएसँगै रास्वपा महाधिवेशनको चुनावी प्रक्रिया पनि सम्पन्न हुनेछ।
निर्वाचन प्रक्रियाबाट छानिने केन्द्रीय सदस्यहरू बिहीबार नै निर्वाचित भइसकेका छन्।
आसार ७–९ गतेसम्मका लागि तय गरिएको महाधिवेशन व्यवस्थापकीय कमजोरी, आन्तरिक विवादलगायतका कारणले लम्बिएको थियो। महाधिवेशनको अवधि लम्बिएपछि कतिपय प्रतिनिधिहरू महाधिवेशन सम्पन्न हुनुअगावै आ–आफ्नो जिल्ला फर्किएका थिए।




































