काठमाडौं । जननेता मदन भण्डारीको ७५औँ जन्मजयन्तीका अवसरमा आयोजना हुने विशेष कार्यक्रममा नेपालका प्रमुख कम्युनिस्ट नेताहरू लामो समयपछि एउटै मञ्चमा देखिने भएका छन्।

मदन भण्डारी फाउण्डेशनले आगामी असार १४ गते राष्ट्रिय सभागृहमा आयोजना गर्न लागेको ‘नेपालको कम्युनिष्ट आन्दोलन र जननेता मदन भण्डारी’ विषयक राष्ट्रिय गोष्ठीमा पूर्वराष्ट्रपति विद्या भण्डारी प्रमुख अतिथिका रूपमा सहभागी हुने कार्यक्रम छ।

गोष्ठीमा पुर्व प्रधानमन्त्री तथा नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’,पुर्व प्रधानमन्त्री तथा नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली, पुर्व प्रधानमन्त्री तथा नेकपा सहसंयोजक माधवकुमार नेपाल, वरिष्ठ नेता झलनाथ खनाल तथा जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव ले सम्बोधन गर्ने कार्यसूची तय गरिएको छ।

फरक–फरक राजनीतिक धारमा रहेका यी नेताहरू एउटै कार्यक्रममा सहभागी हुन लागेकाले कार्यक्रमलाई राजनीतिक रूपमा पनि चासोका साथ हेरिएको छ। गोष्ठीमा जननेता मदन भण्डारीको राजनीतिक विचार, जनताको बहुदलीय जनवाद (जबज) र नेपालको कम्युनिस्ट आन्दोलनमा उनको योगदानबारे छलफल तथा धारणा प्रस्तुत गरिने आयोजकले जनाएको छ।