काठमाडौं— प्रतिनिधि सभा बैठकबाट ‘राष्ट्र ऋण उठाउने विधेयक, २०८३’ सर्वसम्मतिले पारित भएको छ। आज आइतबार बसेको बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राखेको ‘विधेयकलाई पारित गरियोस्’ भन्ने प्रस्ताव सदनले सर्वसम्मत रूपमा पारित गरेको हो।
विधेयकमाथिको दफावार छलफलमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै अर्थमन्त्री डा. वाग्लेले वैदेशिक तथा राष्ट्रिय ऋणलाई अनुत्पादक क्षेत्रमा नभई उत्पादनमूलक आयोजनाहरूमा मात्र खर्च गरिने स्पष्ट पारे।
'विदेशी ऋण पूर्वाधार आयोजनाका लागि तोकिएर आउँछन्, जसले अर्थतन्त्रका गतिविधिलाई चुस्त बनाउने, दूरी छोट्याउने र लागत घटाउने काम गरिरहेका हुन्छन्,' अर्थमन्त्री वाग्लेले भने, 'तर, ऋण लिएर निर्माण गरिएका दुई वटा अन्तर्राष्ट्रिय विमानस्थलको (पोखरा र भैरहवा) वर्तमान अवस्थाले फरक परिदृश्य देखाएको छ, यसमा हामीले गम्भीर निगरानी गर्नै पर्छ।'
विधेयक पारित हुनुअघि सभामुख डोलप्रसाद अर्यालले उक्त विधेयकमाथि प्राप्त संशोधनहरूलाई निर्णयार्थ प्रस्तुत गरेका थिए। जसमा सांसद परशुराम तामाङ र रेखाकुमारी यादवले राखेको संशोधन प्रस्ताव बहुमतले अस्वीकृत गरेको थियो भने अर्का सांसद हरिप्रसाद भुसालले आफ्नो संशोधन प्रस्ताव फिर्ता लिएका थिए।
बजेट आश्रित यो महत्त्वपूर्ण विधेयक पारित गरेपछि सभामुख अर्यालले प्रतिनिधि सभाको बैठक आजै १५ मिनेटपछि बस्ने गरी स्थगित गरेका छन्। अब बस्ने बैठकमा आर्थिक विधेयक लगायतका अन्य कार्यसूचीमाथि छलफल हुनेछ।





































