काठमाडौं— भारतको विदेश मन्त्रालयले कैलाश मानसरोवर यात्रा गर्ने क्रममा आवश्यक प्रक्रिया पूरा नगर्दा समस्या देखिएको भन्दै आफ्ना नागरिकलाई विशेष सतर्कता अपनाउन आग्रह गरेको छ।

मन्त्रालयका अनुसार हालै निजी टुर अपरेटरमार्फत यात्रा थालेका केही भारतीय नागरिक आवश्यक चिनियाँ भिसा र प्रवेश अनुमति (परमिट) बिना चीन प्रवेश गर्ने प्रयास गर्दा नेपालमै रोकिएका छन्। यस घटनापछि यात्रुहरूलाई यात्रा सुरु गर्नुअघि सबै आवश्यक कागजात पूरा भएको सुनिश्चित गर्न मन्त्रालयले अनुरोध गरेको हो।

विदेश मन्त्रालयले कैलाश मानसरोवर यात्रा गर्नुअघि सम्बन्धित निकायबाट आवश्यक अनुमति प्राप्त गर्न तथा भिसा, परमिटलगायत सबै औपचारिक प्रक्रिया पूरा गर्नुपर्नेमा जोड दिएको छ।

साथै, यात्रा प्याकेज खरिद गर्दा सम्बन्धित टुर अपरेटर कानुनी रूपमा दर्ता भएको र विश्वसनीय रहेको सुनिश्चित गर्न पनि मन्त्रालयले सुझाव दिएको छ। आवश्यक तयारीबिनै यात्रा गर्दा यात्रुहरू प्रशासनिक, आर्थिक तथा अन्य झन्झटमा पर्न सक्ने भएकाले सावधानी अपनाउन भारत सरकारले आग्रह गरेको छ।