काठमाडौं— नेपाली कांग्रेसभित्रको आन्तरिक विवाद समाधानका लागि संस्थापन पक्षले पुनः संवाद सुरु गरेको छ ।
महामन्त्री गुरुराज घिमिरेले पूर्णबहादुर खड्का, कृष्णप्रसाद सिटौला र शेखर कोइरालासँग भेटवार्ता गर्दै सहमतिको प्रयास अघि बढाएका छन् ।
संस्थापन पक्षको ७ बुँदे प्रस्तावको जवाफमा इतर पक्षले ८ बुँदे प्रस्ताव पेश गर्दै १५औँ महाधिवेशनसम्म १४औँ महाधिवेशन र विशेष महाधिवेशनबाट बनेका दुवै कार्यसमितिलाई समेटेर संयुक्त केन्द्रीय कार्यसमिति गठन गर्नुपर्ने अडान राखेको छ ।
महाधिवेशन तयारीका सबै समिति, भ्रातृ संस्थाको गठन र क्रियाशील सदस्यता व्यवस्थापन पनि सहमतिका आधारमा गर्नुपर्ने इतर पक्षको माग छ ।
संस्थापन पक्ष भने विशेष महाधिवेशनको वैधानिकतामाथि पुनः प्रश्न नउठाउने अडानमा छ ।
अब दुवै पक्षबीचको आगामी वार्ताले कांग्रेसको एकता प्रक्रिया र १५औँ महाधिवेशनको मार्गचित्र तय गर्ने अपेक्षा गरिएको छ ।






































