बर्दिया— सरकारले भूमिहीन नागरिकलाई जग्गाको कानुनी स्वामित्व दिलाउने अभियानअन्तर्गत बर्दियाबाट लालपुर्जा वितरण सुरु गरेको छ। पहिलो चरणमा बढैयाताल गाउँपालिका–४ का २९ भूमिहीन दलित तथा भूमिहीन सुकुम्बासी परिवारलाई जग्गाधनी प्रमाणपूर्जा (लालपुर्जा) हस्तान्तरण गरिएको हो।

वर्षौंदेखि आफ्नो नाममा जग्गा दर्ता हुन नसकेका ती परिवारले लालपुर्जा प्राप्त गरेसँगै कानुनी रूपमा जग्गाधनीको मान्यता पाएका छन्। यससँगै उनीहरूले आफ्नो जग्गामाथि कानुनी अधिकार प्रयोग गर्न पाउने भएका छन्।

भूमि व्यवस्था, सहकारी तथा संघीय मामिला मन्त्रालयले भूमिहीन दलित, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको समस्या दीर्घकालीन रूपमा समाधान गर्ने उद्देश्यका साथ लालपुर्जा वितरण अभियानलाई देशभर प्रभावकारी रूपमा विस्तार गरिने जनाएको छ।

भूमि व्यवस्था, सहकारी तथा संघीय मामिला मन्त्री प्रतिभा रावलले भूमिहीन नागरिकलाई जग्गाको स्वामित्व दिलाउने काम सरकारको उच्च प्राथमिकतामा रहेको बताइन्। उनले बर्दियाबाट सुरु भएको अभियानलाई क्रमशः अन्य जिल्लामा पनि विस्तार गर्दै वास्तविक भूमिहीन परिवारलाई कानुनी रूपमा जग्गाधनी बनाइने स्पष्ट पारिन्।