धनगढी— कञ्चनपुरका पत्रकार खेम भण्डारीलाई अदालतको फैसला कार्यान्वयनका लागि प्रहरीले पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले बिहीबार भण्डारीलाई नियन्त्रणमा लिएको हो। प्रहरीका अनुसार उनीविरुद्ध गालीगलौजसम्बन्धी मुद्दामा अदालतले एक महिना सात दिन कैद सजाय र जरिवानाको फैसला सुनाएको थियो।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक (डीएसपी) टेकबहादुर रावतले अदालतको आदेश कार्यान्वयन गर्ने क्रममा भण्डारीलाई पक्राउ गरिएको बताए।
प्रहरीले आवश्यक कानुनी प्रक्रिया पूरा गरी अदालतको फैसला कार्यान्वयनका लागि उनलाई सम्बन्धित निकायमा पेश गरिने जनाएको छ।





































