सर्लाही— सर्लाही प्रहरीले छिमेकीको हत्या गरेको आरोपमा बसबरिया गाउँपालिका–१ मानपुरका २५ वर्षीय सन्तोषकुमार रायलाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय सर्लाहीले बिहीबार पत्रकार सम्मेलनमार्फत घटनाबारे जानकारी दिँदै अभियुक्तलाई सार्वजनिक गरेको हो।

प्रहरीका अनुसार ५३ वर्षीय होसनारायण राय यादवको ७ असार राति भैंसी गोठमा सुतिरहेको अवस्थामा धारिलो हतियार (हसिया) प्रहार गरी हत्या गरिएको थियो। घाँटीमा गम्भीर चोट लागेका यादवलाई उपचारका लागि अस्पताल लगिए पनि चिकित्सकले मृत घोषणा गरेका थिए।

सर्लाहीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) रवीन्द्रनाथ पौडेलका अनुसार घटनाको प्रारम्भिक अनुसन्धानमा पक्राउ परेका सन्तोषकुमार रायले आफ्नै बुबा र भिनाजुलाई फसाउने उद्देश्यले हत्या गरेको स्वीकार गरेका छन्।

घटनास्थल आसपासका सीसीटीभी फुटेजको विश्लेषण र अन्य प्रमाणका आधारमा प्रहरीको शंका रायमाथि केन्द्रित भएको थियो। घटनापछि फरार रहेका उनलाई १६ असारमा बरहथवा नगरपालिका–७ बाट पक्राउ गरिएको प्रहरीले जनाएको छ।

प्रहरीको प्रारम्भिक सोधपुछमा रायले मोबाइल किन्न पैसा माग्ने विषयमा बुबासँग विवाद भएको र परिवारका सदस्यले सुधार केन्द्र पठाइदिने धम्की दिने गरेपछि उनीहरूप्रति आक्रोश बढ्दै गएको बयान दिएका छन्।

अनुसन्धानका क्रममा घटनाको राति चोरी भएको ना४५प २६८५ नम्बरको मोटरसाइकल ८ असारमा लालबन्दी नगरपालिका–२ नवलपुर क्षेत्रमा बेवारिसे अवस्थामा फेला परेको थियो। उक्त मोटरसाइकल छिमेकी हरिन्द्रराम यादवको रहेको र हत्या गर्न प्रयोग गर्न अभियुक्तले आफैं चोरी गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ।

प्रहरीले रायविरुद्ध कर्तव्य ज्यान तथा चोरीसम्बन्धी मुद्दा दर्ता गरी सर्लाही जिल्ला अदालतबाट सात दिनको म्याद थप अनुमति लिएर थप अनुसन्धान अघि बढाइरहेको जनाएको छ।