जनकपुरधाम — धनुषाको जनकपुरधामस्थित चार होटलमा म्याद नाघेका तथा अखाद्य  सामग्री प्रयोग गरिएको भेटिएपछि प्रशासनले एक लाख ५० हजार रुपैयाँ जरिवाना गरेको छ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय जनकपुर र जिल्ला प्रशासन कार्यालय धनुषाको संयुक्त अनुगमन टोलीले होटलहरूको निरीक्षणका क्रममा उपभोक्ताको स्वास्थ्यमा प्रत्यक्ष असर पर्ने खालका खाद्य सामग्री भण्डारण तथा प्रयोग भइरहेको फेला पारेपछि कारबाही अघि बढाएको हो।

कारबाहीमा परेका होटलहरूमा बाबाको ढाबा, बाजेको सेकुवा घर, बर्गर एन्ड पिज्जा हाउसहोटेल रोयल स्मार्ट रहेका छन्। बाबाको ढाबा र बर्गर एन्ड पिज्जा हाउसलाई जनही ३५ हजार रुपैयाँ, बाजेको सेकुवा घरलाई ७५ हजार रुपैयाँ तथा होटेल रोयल स्मार्टलाई ५ हजार रुपैयाँ जरिवाना गरिएको छ।

मधेश प्रदेशका गृह, सञ्चार तथा कानून मन्त्री फकिरा महतोका अनुसार संयुक्त टोलीले जनकपुरधामका १० वटा होटलमा अनुगमन गरेको थियो।

अनुगमनका क्रममा ग्राहकलाई सेवा दिने स्थान तुलनात्मक रूपमा सफा देखिए पनि अधिकांश होटलका भान्साघरमा खाद्य स्वच्छतासम्बन्धी मापदण्ड पालना नभएको, म्याद नाघेका खाद्य सामग्री राखिएको र केही स्थानमा अखाद्य सामग्रीसमेत प्रयोग गरिएको पाइएको जनाइएको छ।

अनुगमन टोलीले होटल व्यवसायीलाई स्वच्छ र गुणस्तरीय खाद्य सामग्री मात्र प्रयोग गर्न, ताजा खाना बिक्री गर्न, मूल्यसूचीअनुसार सेवा उपलब्ध गराउन, अनावश्यक मूल्य नबढाउन तथा प्रचलित खाद्य मापदण्ड कडाइका साथ पालना गर्न निर्देशन दिएको छ।