काठमाडौं— चितवनको भरतपुर महानगरपालिका–२३ बेलहट्टामा जंगली हात्तीले घरमै आक्रमण गर्दा आमा र छोराको मृत्यु भएको छ। शनिबार राति आफ्नै घरमा सुतिरहेका २५ वर्षीया आशिका बोटे र उनका चार वर्षीय छोरा भरत बोटेको घटनास्थलमै ज्यान गएको प्रहरीले जनाएको छ।

रातिको समयमा जंगली हात्ती बस्तीमा पसेर कच्ची घरमा आक्रमण गरेको जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी चन्द्रभूषण यादवले जानकारी दिए । हात्तीलाई धपाउने प्रयासस्वरूप आशिकाका श्रीमान् पूर्ण बोटेले आगो बाल्दा घरमा समेत आगलागी भएको थियो।

घटनापछि तत्काल प्रहरी र स्थानीयवासी घटनास्थलमा पुगेका थिए। उनीहरूको संयुक्त प्रयासमा आगो नियन्त्रणमा लिइए पनि आमा र छोराको भने ज्यान जोगाउन सकिएन।

निकुञ्ज आसपासका बस्तीमा जंगली हात्तीको आवतजावत र आक्रमणका घटना दोहोरिँदै आएपछि स्थानीयवासी थप त्रसित बनेका छन्। वन्यजन्तुबाट हुने जोखिम न्यूनीकरणका लागि प्रभावकारी सुरक्षा व्यवस्था र दीर्घकालीन समाधानको मागसमेत स्थानीयले गरेका छन्।