काठमाडौं— नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को नाम र ब्युरो प्रमुखको परिचय दुरुपयोग गर्दै धम्कीपूर्ण इमेल पठाउने गिरोह सक्रिय भएको पाइएको छ। घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै सीआईबीले सर्वसाधारणलाई यस्ता इमेलप्रति सचेत रहन आग्रह गरेको छ।

सीआईबीले सोमबार जारी गरेको विज्ञप्तिअनुसार केही व्यक्तिले ब्युरोको नाम प्रयोग गर्दै विभिन्न व्यक्तिलाई कानुनी कारबाहीको त्रास देखाउने र तत्काल सम्पर्क गर्न दबाब दिने प्रकृतिका इमेल पठाइरहेका छन्।

ती इमेलमा ‘यदि तपाईंविरुद्ध सीआईबीबाट कानुनी कारबाही हुन नदिन चाहनुहुन्छ भने तुरुन्त यस सन्देशको जवाफ दिनुहोस्, अन्यथा अदालतमा मुद्दा दायर गरिनेछ’ भन्ने आशयका अंग्रेजी सन्देश समावेश गरिएको ब्युरोले जनाएको छ।

सीआईबीले यस्ता सबै इमेल पूर्ण रूपमा नक्कली र भ्रामक भएको स्पष्ट गर्दै ब्युरो वा ब्युरो प्रमुखको तर्फबाट कुनै पनि व्यक्तिलाई यस्तो प्रकृतिको इमेल वा पत्राचार नगरिएको जनाएको छ।

ब्युरोले यस्ता सन्देशमा विश्वास नगर्न, कुनै प्रतिक्रिया नजनाउन तथा शंकास्पद इमेल प्राप्त भएमा सम्बन्धित निकायसँग पुष्टि गर्न सर्वसाधारणलाई आग्रह गरेको छ।

यस घटनाबारे नेपाल प्रहरीको साइबर ब्युरोले अनुसन्धान अघि बढाइसकेको सीआईबीले जनाएको छ। साइबर माध्यमबाट ठगी तथा भ्रम फैलाउने गतिविधिमा संलग्न जो–कोहीलाई प्रचलित कानुनबमोजिम कारबाही गरिने चेतावनी पनि विज्ञप्तिमा दिइएको छ।

सीआईबीका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक अनुपम शमशेर जबराले साइबर अपराधका नयाँ स्वरूपप्रति सतर्क रहन र आधिकारिक स्रोतबाट मात्र सूचना पुष्टि गर्न सबैमा आग्रह गरेका छन्।

Screenshot 2026-07-05 105848