गुल्मी— गुल्मीको रेसुंगाबाट तम्घासतर्फ आउँदै गरेको जिप दुर्घटनामा परेर एक किशोरको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्। दुर्घटनापछि जिपका चालक र सहचालक फरार रहेको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी वीरेन्द्र वीर विश्वकर्माका अनुसार गएराति करिब २ः३० बजे लु १ ज १५२८ नम्बरको जिप दुर्घटनामा पर्दा तम्घासका १६ वर्षीय सुदीप नेपालीको घटनास्थलमै मृत्यु भएको हो। दुर्घटनामा १७ वर्षीय अर्जुन बुढाथोकी, १८ वर्षीय गणेश परियार र १८ वर्षीय आयुष गैरे घाइते भएका छन्। घाइतेमध्ये अर्जुन प्यूठानको नौबहिनी, गणेश बागलुङको भीमगिठे तथा आयुष गुल्मीको तम्घास निवासी हुन्।

प्रहरीका अनुसार दुर्घटनामा संलग्न चालक र सहचालक घटनापछि फरार भएकाले उनीहरूको खोजी तथा पक्राउका लागि अभियान सञ्चालन गरिएको छ। प्रारम्भिक अनुसन्धानमा उनीहरू साँझ करिब ८–९ बजेतिर रेसुंगातर्फ गएका थिए भन्ने खुलेको प्रहरीले जनाएको छ। दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको छ।