काठमाडौं— ललितपुरको महालक्ष्मी नगरपालिका–२, इमाडोलमा सार्वजनिक स्थलमा एक महिलाप्रति अश्लील व्यवहार गरेको आरोपमा रक्षा मन्त्रालयका एक शिक्षा अधिकृत पक्राउ परेका छन्।
पक्राउ पर्नेमा बैतडीको पाटन नगरपालिका–७ स्थायी घर भई हाल इमाडोल बस्दै आएका ५५ वर्षीय सुरेन्द्र भट्ट रहेका छन्।
घटनापछि पीडित महिलाले भट्टले गरेको व्यवहारको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक गरेकी थिइन्। उक्त भिडियोका आधारमा प्रहरी वृत्त सातदोबाटोको टोलीले अनुसन्धान अघि बढाउँदै भट्टलाई नियन्त्रणमा लिएको हो।
प्रहरीको प्रारम्भिक अनुसन्धानअनुसार भट्ट सिंहदरबारस्थित रक्षा मन्त्रालयमा शिक्षा अधिकृतका रूपमा कार्यरत रहेका छन्।
हाल उनलाई प्रहरी वृत्त सातदोबाटोको हिरासतमा राखेर सार्वजनिक शिष्टाचारविपरीतको व्यवहार सम्बन्धी घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।






































