काठमाडौं— गृहमन्त्री सुधन गुरुङले पूर्वसूचना नदिई सीमा नाका, जिल्ला प्रशासन कार्यालय तथा प्रहरी इकाइहरूमा आकस्मिक अनुगमनलाई तीव्र बनाएपछि सुरक्षा प्रशासनमा हलचल बढेको छ।
तस्करी नियन्त्रण, सीमा सुरक्षाको वास्तविक अवस्था र सरकारी सेवा प्रवाहको प्रभावकारिता प्रत्यक्ष रूपमा बुझ्न गृहमन्त्री गुरुङ लगातार विभिन्न जिल्लाको स्थलगत निरीक्षणमा जुटेका छन्। पछिल्लो चरणमा उनले धनकुटा र झापाको काँकडभिट्टा सीमा नाकाको निरीक्षण गर्दै सुरक्षा व्यवस्था, राजस्व चुहावट रोकथाम तथा नागरिकलाई प्रदान गरिने सेवाबारे सम्बन्धित अधिकारीसँग जानकारी लिएका छन्।
यसअघि उनले पर्सा–बारा सीमावर्ती क्षेत्रमा समेत गोप्य रूपमा पुगेर स्थानीय बासिन्दासँग तस्करी, सीमा अपराध र सुरक्षा निकायको भूमिकाबारे प्रत्यक्ष छलफल गरेका थिए। त्यसक्रममा प्राप्त सुझाव र गुनासालाई आधार बनाएर उनले सहायक सीमा नाकाबाट हुने अवैध कारोबार रोक्न सुरक्षा निकायलाई थप सक्रिय हुन निर्देशन दिएका छन्।
गृहमन्त्रीको निरन्तर छड्के अनुगमनलाई सीमा सुरक्षा कडाइ, तस्करी नियन्त्रण र सार्वजनिक सेवा सुधारलाई उच्च प्राथमिकतामा राखिएको सरकारी संकेतका रूपमा हेरिएको छ। यसले सीमा क्षेत्रमा खटिएका सुरक्षा निकाय र प्रशासनिक संयन्त्रमाथि कार्यसम्पादन सुधार्न थप दबाब सिर्जना गरेको छ।






































