उदयपुर— उदयपुरगढी गाउँपालिका वडा नं. २ र ३ स्थितमा गाउँ गाउँ सुन सफा गर्दै हिँड्ने भारतीय नागरिकहरुले सुनको गहना सफा गर्ने बहानमा ठगी गरेको आरोपमा दुई जना भारतीय नागरिक पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा भारतको बिहार राज्य, सहरसा जिल्ला, पुरिक पुरुषोत्तमपुर ग्राम पञ्चायत बस्ने २८ वर्षीय (विहान थाना) का गोविन्द कुमार साह र सोही राज्यको मधेपुरा जिल्ला, रहताग्राम पञ्चायत ३३ वर्षीय (कुमार थाना) का सचिन साह रहेका छन् ।

ती भारतीय नागरिकले उदयपुरगढी वडा नं २ र ३ का स्थानीय महिलाहरू पेशल कुमारी मगर र मनमाया तामाङले लगाएको सुनको गहना सफा गर्ने बहानामा ठगी गरेका थिए । उनीहरुलाई असार २२ गते प्रहरी चौकी उदयपुरगढीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको थियो। पक्राउ परेका व्यक्तिहरूले स्थानीय दुई महिलाले कानमा लगाएको करिब १, १ तोला बराबरको सुनको बेरुवा रिङलाई विभिन्न केमिकल प्रयोग गरी सफा गर्ने बहानामा सुनको मात्रा घटाई ठगी गरेको भनी स्थानीयले प्रहरीलाई जानकारी गराएका थिए ।

प्रहरीका अनुसार सुन सफा गर्नै बहानामा सुन ठगी गरेको आरोपमा ठगी कार्यमा संलग्न दुवै जनालाई जिल्ला प्रहरी कार्यालय उदयपुरको हिरासतमा राखि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।