काठमाडौं— कीर्तिपुरको होल्डिङ सेन्टरबाट पक्राउ परेका सुकुम्बासी डम्बरबहादुर तामाङ १० हजार रुपैयाँ धरौटी बुझाएर छुटेका छन्।
सरकारले सुकुम्बासीको उचित व्यवस्थापन नगरे सिंहदरबारमा खुकुरी लिएर जाने भनेर दिएको अभिव्यक्तिका कारण पक्राउ परेका तामाङलाई सोमबार धरौटीमा रिहा गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवनकुमार भट्टराईले जानकारी दिए।
‘उहाँलाई जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट हिजो १० हजार रुपैयाँ धरौटी माग भएको थियो। रकम बुझाएर छुट्नुभयो,’ उनले भने।
तामाङविरूद्ध प्रहरीले सार्वजनिक शान्तिविरूद्धको कसुरमा अनुसन्धान अघि बढाएको थियो। उनले एक अन्तर्वार्ता दिने क्रममा सिंहदरबार प्रवेश गर्ने अभिव्यक्ति दिएका थिए।
उनको पक्राउ पछि सुकुम्बासीहरूले रिहाइको लागि माग गर्दै आन्दोलन समेत गरेका थिए।






































