काठमाडौं /  काठमाडौं महानगरपालिकाले खाद्य सुरक्षालाई प्रभावकारी बनाउने उद्देश्यसहित अत्याधुनिक खाद्य प्रयोगशालाको उद्घाटन गरेको छ। 

बुधबार महानगरकी कार्यवाहक प्रमुख सुनिता डङ्गोलले प्रयोगशालाको उद्घाटन गरेकी हुन्। महानगरले खाद्य निरीक्षणलाई थप प्रभावकारी बनाउँदै सुरक्षित, स्वच्छ र गुणस्तरीय खाद्य वस्तुको पहुँच सुनिश्चित गर्न प्रयोगशालाले महत्वपूर्ण सहयोग पु¥याउने जनाएको छ। प्रयोगशालाले उपभोक्ता हित संरक्षण, खाद्यजन्य रोग न्यूनीकरण तथा खाद्य व्यवसायमा गुणस्तर कायम गर्न सहयोग गर्ने महानगरको भनाइ छ। उद्घाटनपछि सञ्चारकर्मीसँग कुरा गर्दै कार्यवाहक प्रमुख डङ्गोलले खाद्य अनुगमनका क्रममा नमुना परीक्षणका लागि आफ्नै प्रयोगशाला नहुँदा समस्या हुने गरेको बताइन्।

उनले भनिन्,‘कहिलेकाहीँ दण्ड जरिवाना पनि गर्नुपर्ने हुन्छ। त्यस क्रममा हामीलाई ल्याब टेस्टको आवश्यकता पर्छ। तर टेस्ट गर्न लामो समय लाग्ने र आफ्नै संरचना नहुँदा अरूमा निर्भर हुनुपर्ने अवस्था थियो ।’ उनले अब महानगरकै प्रयोगशाला सञ्चालनमा आएपछि केही परीक्षण स्थानीयस्तरमै गर्न सकिने र अनुगमनको काम थप सहज तथा प्रभावकारी हुने बताइन्।

‘यो सुरुवात हो, अझ यसलाई विस्तार गर्दै जानेछौँ। अनुगमनमा जाँदा महत्वपूर्ण काम भनेको नमुना परीक्षण हो। अब आफ्नै ल्याब भएपछि अनुगमनको कामलाई धेरै हदसम्म सहज र तीव्र बनाउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास छ’उनले भनिन् ।