बागमती। मकवानपुर जिल्लाको हेटौँडा उपमहानगरपालिका–१ स्थित भैरवडाँडाको पहिचान नै बदलिएको छ ।
डाँडामा २०६४ साल वैशाख १ गतेदेखि औपचारिक रुपमा स्थापना गरिएको पाथीभराको मन्दिरसँगै थपिएका विभिन्न पूर्वाधारका कारण करिब दुई दशककै अवधिमा यस दिव्य धार्मिक धामका रुपमा स्थापित बनेको हो ।
धार्मिक आस्था र विश्वासका कारण मन्दिरमा दर्शनका लागि टाढाटाढाबाट दर्शनार्थी आउने गरेको मन्दिरका संस्थापक देवीदास गुरुले जानकारी दिनुभयो । मन्दिर स्थापना गरिएयता भक्तजनसँगै विभिन्न सङ्घसंस्था एवं निकायबाट स्वतस्फुर्त रुपमा गर्ने गरिएको सहयोगका कारण यहाँका पूर्वाधार निर्माण गर्न सम्भव भएको उहाँले बताउनुुभयो ।
ताप्लेजुङस्थित पाथीभरा मन्दिरबाट ल्याइएको शिला, त्रिशूल र कलशलाई स्थापना गरी मन्दिर निर्माण गरिएको बताउँदै उहाँले यस तीर्थस्थलले मनोवाञ्छित फल प्राप्त हुने विश्वाससँगै दर्शनार्थीलाई आकर्षित गरिरहेको जानकारी दिनुुभयो ।
उहाँका अनुुसार मन्दिरमा नियमित पूजाआजाका साथै २०६५ असोज १३ गतेबाट अखण्ड हवन भइरहेको छ । ताप्लेजुङको पाथीभरा मन्दिर जान नसक्नेका लागि पनि महत्वपूर्ण विकल्पजस्तै बनेको यस मन्दिरमा विशेष गरी नवरात्रको समयमा अष्टमी विशेष पूजा, नवरात्रका पूजाहरू, गुप्त रुपमा चण्डी साधना, देवी भागवत आदि पाठपारायण हुने गरेको छ ।
मन्दिरको पूर्वाधार विकासका लागि प्रदेश तथा स्थानीय तहबाट निरन्तर साथ सहयोग भइरहेको पाथीभरा मन्दिर संरक्षण समितिका अध्यक्ष केशव देवकोटाले बताउनुभयो । “प्रदेशसँगै स्थानीयतहबाट यहाँका विभिन्न पूर्वाधार निर्माणमा महत्वपूर्ण सहयोग प्राप्त भएको छ”, उहाँले भन्नुुभयो, “सुरुमा कबुलियती बनका रुपमा रहेको यो क्षेत्र अहिले भने दिव्य धार्मिक धामका रुपमा स्थापित भैसकेको छ ।”
उहाँका अनुुसार २०५४ सालदेखि यहाँको छ हेक्टर क्षेत्रफलको वन भैरवडाँडा कबुलियती बनका रुपमा संरक्षण सुरु गरिएको थियो ।
यहाँ मन्दिर स्थापनाका लागि देवीदास गुुरुले गर्नुुभएको अनुरोधसँगै उक्त अनुरोधलाई समितिबाट स्वीकार गरी मन्दिर निर्माण भएको उहाँले जानकारी दिनुुभयो ।
मन्दिर स्थापना भएयता भएको पूर्वाधार विकास आदिले यहाँको स्वरुपमा नै आमूल परिवर्तन भएको उहाँले जानकारी दिनुभयो । अघिल्लो वर्ष मात्रै यस कबुलियती बनको साढे चार हेक्टर क्षेत्रफल धार्मिक वनका रुपमा स्वीकृत भएको बताउँदै उहाँले यसबाट धार्मिक पूर्वाधार निर्माणमा थप बाटो खुलेको बताउनुभयो । धार्मिक वन बनाउनका लागि डिभिजन वन अधिकृत विष्णुु आचार्यको महत्वपूर्ण सहयोग रहेको उहाँले जानकारी दिनुुभयो ।
यस धार्मिक वन क्षेत्र विभिन्न प्रजातिका चराचुुरुङ्गीका साथै वन्यजन्तु अवलोकनका लागि राम्रै गन्तव्य बन्न सक्ने देखिएको छ । मन्दिर परिसरका क्षेत्रमा मयुुर लगायतका चराचुरुङ्गीका साथै चित्तल, मृग, बँदेल आदि वन्यजन्तु रहेको उहाँले बताउनुभयो ।
खानेपानीको सुविधा
पछिल्ला समयमा पाथीभरा मन्दिरकै कारण यहाँको बाटोघाटोसँगै खानेपानीलगायतमा महत्वपूर्ण सहयोग पुुगेको छ । भैरवडाँडामा आउने बाटोको सामान्य मार्ग २०५२ सालमा खोलिए पनि पछिल्ला वर्षमा यसलाई कालोपत्रे गरी आवतजावतका लागि सहज बनाइएको छ ।
हेटौँडा–नारायणगढ सडकको बुद्धचोकबाट २.७ किलोमिटर दूरीमा रहेको यस मन्दिरसम्म नै बाटो कालोपत्रे भइसकेको अध्यक्ष देवकोटाले बताउनुुभयो । यहाँको बाटो निर्माणका लागि हेटौँडा उपमहानगरपालिकाबाट निरन्तर साथ र सहयोगप्राप्त भइरहेको उहाँले बताउनुुभयो ।
विगतमा पानीको चरम अभाव भोगरहेको भैरवडाँडामा पाथीभरा देवीको मन्दिरकै कारण अहिले पानीको समस्या धेरै सहज भएको छ । मन्दिरमा पानी पु¥याउने योजनासँगै यस क्षेत्रका ७२ घरधुरीमा पनि खानेपानी सहज भएको हो । खानेपानीलाई नियमित एवं व्यवस्थित गराउनका लागि खानेपानी बोर्डमार्फत नै सञ्चालन गर्ने गरी व्यवस्थापनको जिम्मा लिनका लागि सम्बन्धित निकायमा आग्रह गरिएको उहाँले बताउनुुभयो ।
पदयात्राको गन्तव्य
मन्दिरका कारण हेटौँडा बजार क्षेत्रबाट हाइकिङ गर्दै पुग्ने गन्तव्यका रुपमा पनि यो क्षेत्र विकास भएको छ । कालोपत्रे बाटो हुँदै २.७ किलोमिटर दूरी पार गर्नुुपर्ने भएपनि पदयात्राका लागि ठाउँठाउँमा सिँढी बाटो र परम्परागत रुपमा हिँड्दै आइएको बाटो प्रयोग गर्न सकिन्छ । मन्दिर दर्शन गर्न आउने दर्शनार्थीका हेटौँडा बसपार्क एवं बुद्धचोकबाट अटोहरू सञ्चालन भइरहेको छ । हेटौँडा बसपार्कलगायत विभिन्न स्थानबाट पनि यहाँ आउने अटोहरू पाइने विगत लामो समयदेखि अटो सञ्चालन गर्दै आउनुुभएका रमेश श्रेष्ठले बताउनुुभयो ।
“सामान्यत अटो रिजर्भ गरेर रु ८०० देखि एक हजारसम्ममा दर्शनार्थी पाथीभरा मन्दिर पुगी दर्शन गरेर फर्कन सक्छन्”, उहाँले भन्नुुभयो, “यसले अटो व्यवसायीको रोजगारीलाई पनि ठूलो टेवा पु¥याएको छ ।” मन्दिरका कारण फूल प्रसाद बिक्री गर्नेहरूको व्यवसायमा पनि सहयोग पुगेको उहाँले बताउनुुभयो ।






































