काठमाडौं।  सरकारको कामकारबाहीमाथि एमालेले फेरि तीखा प्रश्न उठाएको छ। एमाले महासचिव शंकर पोखरेलले रास्वपाको नेतृत्वमा रहेको सरकार स्पष्ट नीति र योजनाविहीन रहेको आरोप लगाउँदै केवल पपुलिजम र त्रासको भरमा देशमा सुशासन र समृद्धि सम्भव नहुने बताएका छन्।

नेकपा एमालेका महासचिव शंकर पोखरेलले रास्वपाले वैकल्पिक राजनीतिक शक्तिको रूपमा जनताको विश्वास जिते पनि त्यसअनुसारको स्पष्ट नीति, योजना र दीर्घकालीन दृष्टिकोण प्रस्तुत गर्न नसकेको टिप्पणी गरेका छन्।

उनका अनुसार सरकार लोकप्रियता कमाउने अभियानमै केन्द्रित देखिएको छ भने शासन सञ्चालनमा स्पष्ट मार्गचित्रको अभाव छ। भय र प्रचारलाई आधार बनाएर सत्ता सञ्चालन गर्न खोजिएको उनको आरोप छ।

पोखरेलले सरकार गठन भएयता आर्थिक क्षेत्रमा सुधारको अनुभूति हुन नसकेको, बजारमा महँगी र कालोबजारी बढेको तथा हत्या, हिंसा र अन्य आपराधिक घटनामा वृद्धि भएको दाबी गरे।

उनले सरकारप्रति देखिएको डरका कारण पीडितहरू समेत खुलेर न्याय माग्न नसक्ने अवस्था सिर्जना भएको टिप्पणी गर्दै यस्तो वातावरण लोकतन्त्रका लागि चिन्ताजनक भएको बताए।

पोखरेलले जनतालाई डर वा भ्रममा राखेर केही समय सत्ता टिकाउन सकिए पनि त्यसबाट सुशासन, विकास र आर्थिक समृद्धि हासिल गर्न नसकिने चेतावनी दिएका छन्।

एमालेले सरकारको कार्यशैलीमाथि नीति, अर्थतन्त्र र सुशासनका विषयमा प्रश्न उठाइरहेका बेला रास्वपाले भने आफू सुधार र प्रणाली परिवर्तनको अभियानमा रहेको दाबी गर्दै आएको छ।