काठमाडौं । लगातारको वर्षासँगै आज १२ जिल्लामा आकस्मिक बाढी ९फ्ल्यास फ्लड० को मध्यम जोखिम रहेको भन्दै सतर्क रहन आग्रह गरिएको छ।

बाढी पूर्वानुमान महाशाखाका अनुसार इलाम, झापा, सोलुखुम्बु, धनकुटा, तेह्रथुम, ओखलढुंगा, खोटाङ, संखुवासभा, दोलखा, रामेछाप, सिन्धुपाल्चोक र आसपासका क्षेत्रमा बहने साना नदी तथा खोलामा पानीको बहाव एक्कासि बढ्न सक्ने सम्भावना छ।

यस्तै कोसी, नारायणी, कर्णाली, महाकाली, कन्काई, कमला, बागमती, राप्ती र बबई लगायतका प्रमुख नदीको बहाव पनि उल्लेख्य रूपमा बढ्ने पूर्वानुमान गरिएको छ।

मौसमविद्का अनुसार आज देशभर वर्षाको सम्भावना छ। विशेषगरी कोसी, बागमती र गण्डकीका पहाडी क्षेत्र, साथै मधेस, लुम्बिनी र सुदूरपश्चिमका केही स्थानमा भारीदेखि धेरै भारी वर्षा हुन सक्ने भएकाले नदी किनार, पहिरो प्रभावित क्षेत्र र तटीय बस्तीका नागरिकलाई विशेष सतर्कता अपनाउन आग्रह गरिएको छ।