काठमाडौं। राजधानी काठमाडौंको प्यास मेटाउने सुन्दरीजलका स्थानीय भने वर्षौंदेखि खानेपानीको अभाव झेलिरहेका छन्। मेलम्चीको पानी राजधानीभर पुग्दा मुहान क्षेत्रका बासिन्दा भने अझै कुवा, ढुंगेधारा र सार्वजनिक धारामा भर पर्न बाध्य छन्। सुन्दरीजलमा प्रशोधन गरिएको मेलम्ची र बागमतीको पानी दैनिक काठमाडौं उपत्यकामा वितरण भइरहेको छ। तर गोकर्णेश्वर र कागेश्वरी मनोहराका धेरै बस्तीमा नियमित खानेपानी नपुग्दा स्थानीयको दैनिकी कष्टकर बनेको छ।
कतिपय स्थानीयले केवल १० लिटर पानीका लागि आधा घण्टा हिँडेर सार्वजनिक धारामा पुग्नुपर्ने र घण्टौँ पालो कुर्नुपर्ने अवस्था रहेको बताएका छन्। यता, स्थानीय जनप्रतिनिधिले मुहान क्षेत्रमै खानेपानी नपुग्नु विडम्बना भएको भन्दै समस्या समाधान नभए मेलम्चीको पानी राजधानीमा वितरण रोक्ने चेतावनी समेत दिएका छन्।
केयूकेएलले भने पुरानो पाइपलाइन र वितरण प्रणालीका कारण समस्या भएको स्वीकार गर्दै नयाँ पूर्वाधार निर्माणको तयारी भइरहेको जनाएको छ राजधानीको प्यास मेटाउने मुहान क्षेत्रकै नागरिक आधारभूत खानेपानीबाट वञ्चित हुनु विकास व्यवस्थापनमाथिको गम्भीर प्रश्न बनेको छ। अब घोषणाभन्दा बढी, मुहानका बासिन्दाले समाधानको प्रतिक्षा गरिरहेका छन्।






































