पोखरा । पोखरा महानगरपालिकाले ‘अस्थायी व्यवस्थापन’ भन्दै सुरु गरेको फोहोर विसर्जन अहिले स्थानीयका लागि ठूलो वातावरणीय संकट बनेको छ। सुरुमा केही समयका लागि भनिएको व्यवस्था ६ महिनासम्म लम्बिँदा जंगल, खोल्सो र बस्ती नै फोहोरको मारमा परेका छन्।
पोखरा–२१ को रैचौर क्षेत्रमा निरन्तर फोहोर फालिँदा बर्खासँगै त्यसको लेदो फुस्रे खोलामा मिसिन थालेको छ। स्थानीयका अनुसार यही खोलाको पानी खानेपानीको स्रोत भएकाले अहिले प्रदूषणले जनस्वास्थ्यमा गम्भीर जोखिम बढाएको छ। दुर्गन्ध, झिँगा र फोहोरको असरले वरपरका बस्तीसमेत प्रभावित भएका छन्।
स्थानीयले फोहोर व्यवस्थापनको विरोध नभई गलत स्थानमा फोहोर फाल्ने शैलीको विरोध गरेको बताएका छन्। पानीको मुहान र वन क्षेत्रमै फोहोर थुपार्दा भविष्यमा ठूलो वातावरणीय विपत्ति निम्तिन सक्ने उनीहरूको चेतावनी छ।
यता, महानगरले भने यो केवल अस्थायी व्यवस्था भएको दाबी दोहोर्याएको छ। मेयर धनराज आचार्यले स्थायी फोहोर प्रशोधन केन्द्र अन्तिम चरणमा पुगेको दाबी गरे पनि अहिलेसम्म त्यसको काम सुरु हुन सकेको छैन।
यसबीच, मेयरका प्रतिस्पर्धी ऋगेन्द्र गिरीले वन क्षेत्र र पानीको मुहान नजिक फोहोर फाल्नु संविधान र प्रचलित कानुनविपरीत भएको आरोप लगाएका छन्। करोडौँ रुपैयाँ खर्च हुँदाहुँदै पनि फोहोर व्यवस्थापन झन् अव्यवस्थित बनेको भन्दै उनले प्रमाणसहित अदालत जाने चेतावनी दिएका छन्।
पोखराको फोहोर व्यवस्थापन अब केवल सरसफाइको विषय रहेन, यो जनस्वास्थ्य, वातावरण र कानुनी जिम्मेवारीसँग जोडिएको गम्भीर बहस बनेको छ। स्थायी समाधान कहिले आउँछ भन्ने प्रश्न भने अझै अनुत्तरित छ।




































