भैरहवा । सिद्धार्थ राजमार्गमा भएको माइक्रोबस दुर्घटनाले एक जनाको ज्यान गएको छ भने सात जना घाइते भएका छन्। दुर्घटनामा माइक्रोका ३० वर्षीय सहचालक सन्दीप बराल को घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार भैरहवाबाट बुटवलतर्फ जाँदै गरेको माइक्रोबस अनियन्त्रित भएर दुर्घटनामा परेको हो। दुर्घटनामा रुपन्देही, कपिलवस्तु, पाल्पा र नवलपरासीका गरी सात जना यात्रु घाइते भएका छन्। घाइतेमध्ये कृष्णकुमारी बेलबासे लाई थप उपचारका लागि भैरहवास्थित सिटी अस्पताल र हेमीसरा खाम्चा लाई मणिग्रामको क्रिमसन अस्पताल रेफर गरिएको छ। अन्य पाँच जनाको अवस्था सामान्य रहेको र उपचार भइरहेको प्रहरीले जनाएको छ।

दुर्घटनापछि चालक घटनास्थलबाट फरार भएका थिए। तर प्रहरीले खोजी अभियान सञ्चालन गरी रुपन्देहीको तिलोत्तमा–६ निवासी ४६ वर्षीय छविलाल थापा लाई नियन्त्रणमा लिएको छ। प्रहरीले दुर्घटनाको वास्तविक कारण खुल्न बाँकी रहेको भन्दै सवारीको अवस्था, चालकको लापरबाही वा अन्य प्राविधिक पक्षबारे विस्तृत अनुसन्धान अघि बढाएको जनाएको छ।

यो दुर्घटनापछि सिद्धार्थ राजमार्गमा सवारी सुरक्षाबारे फेरि प्रश्न उठेको छ। पछिल्ला समयहरूमा यही राजमार्गमा भइरहेका सवारी दुर्घटनाले यात्रुको सुरक्षाप्रति गम्भीर चिन्ता थपिएको छ।