काठमाडौं। तिब्बतबाट भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको विनाशकारी बाढीमा परी मृत्यु हुनेको संख्या ९०३ पुगेको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार सोमबार बिहान ९ बजेसम्म विभिन्न जिल्लाबाट ९०३ जनाको शव फेला परेको हो।
प्राधिकरणका अनुसार बाढीमा परी ४ हजार २४७ जना अझै सम्पर्कविहीन छन् भने २६७ जना घाइते भएका छन्। विपद्मा परेकामध्ये हालसम्म १० हजार ४५१ जनाको उद्धार गरिएको प्राधिकरणले जनाएको छ।
फेला परेका शवमध्ये रसुवामा २४, नुवाकोटमा ९५, धादिङमा ५५, गोरखामा ६२, नवलपरासी पूर्वमा २०७, नवलपरासी पश्चिममा १५१, तनहुँमा ३७ र चितवनमा २७२ जना छन्। यसमध्ये चितवन र नवलपरासीका क्षेत्रमा त्रिशूली नदीमा बगेर आएका शवसमेत भेटिएका छन्।
सम्पर्कविहीन हुनेमा नेपाल प्रहरीका २५, नेपाली सेनाका ४५ र सशस्त्र प्रहरीका १३ जना छन्। त्यस्तै भन्सार कार्यालयका १५, अध्यागमन कार्यालयका ३ तथा रसुवाका ८६५ र नुवाकोटका १ हजार ५५८ जना सम्पर्कविहीन रहेको विवरणमा उल्लेख छ।
बाढीको प्रत्यक्ष प्रभाव जलविद्युत आयोजनामा कार्यरत जनशक्तिमा पनि परेको छ। विभिन्न जलविद्युत आयोजनाबाट ९३३ जना सम्पर्कविहीन रहेको प्राधिकरणले जनाएको छ। यस्तै मकवानपुरका ६५ जना, विदेशी नागरिक ५९२ जना, विदेशी नागरिकसँगै घुम्न गएका १२७ नेपाली, लाङटाङ राष्ट्रिय निकुञ्जका ३ जना र क्वारेन्टाइन कार्यालयका ३ जना पनि सम्पर्कविहीन छन्।
भोटेकोशी र त्रिशूलीको बाढीले एकैपटक ठूलो मानवीय क्षति पुर्याएपछि अहिले पनि शव खोजी, बेपत्ताको खोजी र उद्धार कार्य जारी छ। सम्पर्कविहीनको संख्या ठूलो रहेकाले मृतकको संख्या अझ बढ्न सक्ने देखिएको छ।






































