काठमाडौं / रसुवा, नुवाकोट र धादिङलगायत क्षेत्रमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको सहयोगका लागि सर्लाहीको गोडैता नगरपालिकाका बाल क्लब तथा युवा क्लबका सदस्यहरूले राहत संकलन अभियान सञ्चालन गरेका छन्।

गोडैता नगर बाल क्लब सञ्जाल र गोडैता युवा क्लब सञ्जालले स्थानीय बजारका पसल तथा व्यवसायीहरूसँग सहयोग जुटाएर नगद र खाद्यान्न संकलन गरेका थिए। संकलितमध्ये १३ हजार ७५० रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको छ।

विपद्मा परेका नागरिकप्रति ऐक्यबद्धता जनाउने उद्देश्यले बालबालिका र युवाहरू स्वस्फूर्त रूपमा अभियानमा सहभागी भएका हुन्। उनीहरूको यो पहलले विपद्को समयमा युवा पुस्ता र बालबालिकाले पनि सामाजिक उत्तरदायित्व निर्वाह गर्न सक्ने सन्देश दिएको छ।