बिर्तामोड / झापाको अर्जुनधारा नगरपालिका –५ का ९ वर्षीय बालक आकाश चौधरी यतिबेला साङ्लोमा बाँधिएर बाल्यकाल बिताइ रहेका छन् ।
गत असोजदेखि शारीरिक रुपमा अस्वभाविक परिर्वतन आएसँगै उनलाई फलामको साङ्लोले बाँधेर राखिएको उनका बाबु सेबुलाल चौधरीले बताए ।
सेवुलालका अनुसार आकाशले घर छाडेर जतासुकै हिँड्ने, जे भेट्यो त्यही खाने र मानसिक सन्तुलन गुमाएको जस्तो व्यवहार देखाउन थालेका हुन।
दुई छोरामध्ये कान्छा छोरा हुन् आकाश ‘यसको आमा पनि छैन, सानैदेखि दुई छोराको लालनपालन गरिरहेको छु, मजदुर गरेर जसोतसो घर चलाउँदै थिए, अब चाँहि मुस्किल भयो,’ सेवुलाल भन्छन् ।
आफ्नो आर्थिक अवस्था ज्यादै कमजोर भएपछि उपचारका लागि छोरालाई अस्पतालसम्म लैजान नसकेको सेवुलालको भनाइ छ ।





































