बिर्तामोड / गत असोजदेखि साङ्लोमा बाँधिएका झापा अर्जुनधारा नगरपालिका –५ का नौ वर्षीय बालक आकाश चौधरीको  बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान निःशुल्क उपचार हुने भएको छ । 

मेची अभियानले बालकको घरमै पुगेर बालकको उद्धार गरको हो । अभियानका संयोजक विजय डालमिया नेतृत्वको टोली घरमा पुगरे आकाशको उद्धार गरेको युवा सामाजिक अभियन्ता कौशल भण्डारीले जानकारी दिए ।

बालकको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका चिकित्सक सञ्जीव शर्मासहितको टिमले उपचार गर्ने प्रबन्ध मिलाइएको बताइएको छ । चिकित्सकको टोलीलाई कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले आग्रह गरेपछि उनको उपचारका लागि धरान लगिएको भण्डारीले जानकारी दिए ।

बालकलाई प्रतिष्ठानसम्म पुर्याउने नेपाल रेडक्रस सोसाइटी झापा शाखाले एम्बुलेन्स उपलब्ध गराएको सभापति लोकराज ढकालले बताए ।

आर्थिक अवस्था कमजोर हुँदा उपचार पाउनु पर्ने आकाशलाई केही महिना अघिदेखि साङ्लो बाँधेर राखिएको थियो । उनमा अस्वाभाविक परिवर्तन आएपछि फलामे साङ्लोले बाँधेर राखिएको हो । घर छाडेर जतासुकै जाने, जे पायो त्यही खाने, अस्वाभाविक व्यवहार देखाउन थालेपछि आकाशलाई साङ्लोले बाँधेर राखेको बुबा सेवुलाल चौधरीले बताएका थिए ।