काठमाडौँ / राष्ट्रिय ट्रमा सेन्टरमा पाँच वर्षीय बालकको दुई टुक्रा भइ छिनेको हात शल्यक्रियामार्फत जोडिएको छ । धनुषा जाठी घर भएका बालक कुलदीप मण्डलको हात घाँस काट्ने मेसिनले च्यापिएर दुई टुक्रा भएको थियो ।
गत फागुन ९ गते तीन जना बालक खेल्दै गर्दा मेसिनमा परेर मण्डलको हात दुई टुक्रा भएको राष्ट्रिय ट्रमा सेन्टरका मेडिकल सुपरिन्टेन्डेन्ट डा. प्रमोद जोशीले बताएका हुन् । आमाबुवा दुवै दिल्लीमा रहेका मण्डलको हात मेसिनमा परेर छिनेपछि छिमेकीले हातको टुक्रासहित प्रादेशिक अस्पताल जनकपुर पुर्याएका थिए ।
जनकपुरमा प्राथमिक उपचार गरी बालकलाई तत्कालै ट्रमा सेन्टर पुर्याइएको हो । समयमा नै अस्पताल ल्याएका कारण हात जोड्न सफल भएको डाक्टरहरूले बताएका छन् ।प्रादेशिक अस्पताल जनकपुरले पनि उचित प्राथमिक उपचार गरेको हुँदा हात बिग्रनबाट बचेको समेत उनीहरूले जनाएका छन् ।
सेन्टरका प्लास्टिक सर्जन प्रा.डा. पियुस दाहाल नेतृत्वको चिकित्सक टोलीले १५ घण्टा बढि लगाएर बालकको छिनेको हातको शल्यक्रिया गर्न सफल भएका हुन् । उक्त शल्यक्रियामा २५ वटा विभिन्न नसा र हड्डीको संरचना जोडिएको बताइएको छ ।फागुन ९ गते राति शल्यक्रिया गरेको भए पनि पूर्ण रूपमा सफल भएपछि मात्र आइतबार सार्वजनिक गरिएको दाहालले बताएका छन् ।
नेपालमा पूर्ण छिनालिएको बालकको हात पहिलो पटक जोडिएको बताउँदै अस्पतालका प्रमुख डा. जोशीले बालकको सम्पूर्ण खर्च निःशुल्क गरिदिएको जानकारी दिएका छन् ।





































