बिर्तामोड / रुस युक्रेन युद्धका कारण अन्तर्राष्ट्रिय बजारमा कोइलाको मूल्य अत्यधिक बढेसँगै भारतमा समेत विद्युत संकट देखिएपछि नेपालमा भारतबाट विजुली आयात गर्न चुनौती भएको छ । 

डिजेल, पेट्रोल लगायत इन्धनको भाउ पनि अकासिँदा भारतीय बजारमा बिजुली खपत पनि बढेपछि नेपालले आयात गदै आएको बिजुलीसमेत कटौती भएको हो ।

सामान्य अवस्थामा नेपालले भारतबाट दैनिक करिब ४०० मेगावाट बिजुली आयात गर्दै आएको थियो भने
अहिले दैनिक ८० मेगावाट बिजुली मात्र पाउन थालेको नेपाल विद्युत प्राधिकरणका प्रवक्ता सुरेश भट्टराईले बताएका छन् । 

भारतबाट ल्याउने बिजुली कटौतीपछि अहिले नेपालका उद्योगहरूमा दैनिक ३०० मेगावाट बिजुली अभाव भएको प्राधिकरणले जनाएको छ । सामान्य अवस्थाको तुलनामा नेपालले भारतबाट किन्ने बिजुलीको मूल्य पनि तीन गुणा बढेको छ । 

प्राधिकरणका प्रवक्ता भट्टराईका अनुसार सामान्य अवस्थामा नेपालले भारतबाट औसत प्रतियुनिट चार रुपैयाँमा किन्ने गरेको थियो भने अहिले बढेर औसत प्रतियुनिट १२ रुपैयाँ ८५ पैसा तिर्नुपरेको छ ।

प्राधिकरणका अनुसार नेपालले सिजनमा करिब २ हजार २ सय मेगावाट बिजुली उत्पादन गर्दै आएको छ भने माग सरदर १ हजार ३ सय ५० मेगावाट रहेको छ । हिउँदको समय (कात्तिकदेखि चैतसम्म) दैनिक छ सय मेगावाट सम्मको बिजुली उत्पादन हुने गरेको छ ।

यो समस्यालाई न्यूनीकरण गर्न भने छलफल गरिरहेको र भारतबाट अझ धेरै मात्रामा विजुली आयातको प्रयास गरिरहेको प्रधिकरणले जनाएको छ । प्राधिकरणले तामाकोसी, कालीगण्डकी, मर्स्याङ्दी जस्ता आयोजना बढाउन प्रयास गरिरहेको छ ।