बिर्तामोड / भारतबाट विद्युत खरिद गर्न चुनौती भएपछि नेपाल विद्युत प्राधिकरणले उद्योग व्यवसायबाट दैनिक विद्युत कटौती गरिरहेको समयमा  उद्योगीसँग प्राधिकरणले सम्झौता गरेको छ ।

प्रदेश १ को औद्योगिक क्षेत्रमा असर परेपछि उद्योगीले विद्युत कटौती रोक्न निरन्तर माग गर्दै आएको समयमा प्रधिकरण र नेपाल उद्योग परिसंघ बिच सम्झौता भएको हो । 

अन्तराष्ट्रिय बजारमा कोइलाको मूल्य बढेपछि भारतमा र नेपालमा समेत त्यसको असर देखिएसँगै विद्युत प्रधिकरणले सर्वसाधारणको घरमा लोडसेडिङ हुन नदिन उद्योगबाट विद्युत कटौती गर्दै आएको थियो । 

विद्युत खरिद गर्न नसके पछि दैनिक १५ घण्टासम्म लोडसेडिङ भएका कारण  मोरङ व्यापार संघ र नेपाल उद्योग परिसङ्घले आन्दोलन नै सुरु गरेका थिए ।

परिसंघ र प्राधिकरण बिच भएको सम्झौता अन्तर्गत रहेर लोडसेडिङ ५ घण्टाभन्दा बढी गर्न नपाइने भएपछि मात्र मोरङका उद्योगीहरूले आन्दोलन फिर्ता लिएका छन् । मोरङ व्यापार संघ र नेपाल उद्योग परिसङ्घले संयुक्त रुपमा आन्दोलन फिर्ता लिएका विज्ञप्तिमार्फत जानकारी दिएका छन् ।

मोरङ व्यापार संघका अध्यक्ष नवीन रिजालले औद्योगिक क्षेत्रलाई विद्युतको संकट आउन नदिने विषयमा विद्युत् प्राधिकरणले प्रतिबद्धता जनाएको बताए ।

उद्योगीहरू आन्दोलनमा गरेपछि प्राधिकरणले भारतसँग १५० मेगावाट विद्युत् खरिद गरेर भए पनि समस्या समाधान गर्ने आश्वासन दिएको थियो ।