काठमाडौँ / नेपाललाई संयुक्त राज्य अमेरिकाले ७९ अर्ब ७१ करोड अनुदान सहयोग उपलब्ध गराउने भएको छ । अनुदान सहयोगसम्बन्धी सम्झौतामा अर्थ मन्त्रालयमा विहीवार आयोजित कार्यक्रममा हस्ताक्षर गरिएको हो ।
अन्तर्राष्ट्रिय विकासका लागि अमेरिकी सहयोग नियोग (युएसएआइडी) का निर्देशक सेपिदेह केवंशद र अर्थ मन्त्रालयको अन्तर्राष्ट्रिय आर्थिक सहयोग समन्वय महाशाखाका प्रमुख ईश्वरीप्रसाद अर्यालले सम्झौतामा हस्ताक्षर गरेका छन् ।
निर्देशक केवंशदले पाँच वर्षसम्म सञ्चालन हुने सो सहायता सम्झौताले अमेरिका र नेपालबीचको सहकार्यको बृहत् विकास क्षेत्रको रूपरेखा प्रस्तुत गरेको बताएका छन् ।
अर्थ मन्त्रालयका अनुसार सो सहयोगलाई गुणस्तरीय शिक्षा एवं स्वास्थ्य प्रणाली, दिगो ऊर्जा र कृषि विकासमा उपयोग गरिनेछ । सहायता रकमलाई सरकारको बजेट प्रणाली (रातो पुस्तक)मा अभिलेख गरेर पारदर्शी रूपमा कार्यान्वयन गरिने समेत अर्थमन्त्रालयले जनाएको छ ।






































