बिर्तामोड / महेन्द्र राजमार्गमा पर्ने पूर्वको काँकडभिट्टादेखि सुनसरीको लौकहीसम्मको एक सय २० किलोमिटर सडकअन्तर्गतका तीन सय ७७ वटा संरचना हटाइने भएको छ । 

सामाजिक तथा पुर्नवास विशेषज्ञ रविन ढकालका अनुसार सडकलाई दुई लेनबाट चार लेनमा स्तरोन्नति गरिने भएको हुँदा यो सडकखण्ड अन्तर्गतका साना ठूला गरी तीन सय ७७ संरचना हटाइने भएको हो । 

हटाइने तीन सय ७७ संरचनामा बिर्तामोड नगरपालिकासँग जोडिएको सडकअन्तर्गत दुर्गा मन्दिर, जिल्ला ट्राफिक प्रहरी कार्यालयको पुरानो भवनलगायत सात संरचना पर्नेछन् । 

एसियाली विकास बैंकले स्तरोन्नति गर्न लागेको यो सडकको निर्माण कार्य तीन वर्षभित्रमा सम्पन्न हुने बताइएको छ । सडकको लागत करिब २८ अर्ब १७ करोड रुपैयाँ रहेको रहेको पुर्नवास विशेषज्ञ ढकालले बताए । 

‘एसियन हाइवे स्ट्याण्र्डड’को बन्ने यो सडकको कूल एक सय २० किलोमिटरमध्ये झापामा ५४ दशमलव नौ किलोमिटर पर्छ । झापा, मोरङ र सुनसरी जिल्लालाई छुने यस सडकको आगामी पुससम्ममा ठेक्का खुल्ने र आगामी वर्षको सुरुआतदेखि नै निर्माणको काम सुरु हुने आयोजनाका वातावरणविज्ञ राजेन श्रेष्ठले जानकारी दिए ।

सहरी क्षेत्रमा साइकल लेन, फुटपाथ, ड्रेनसहित निर्माण हुने यस सडकको पहिलो चरणको काम काँकडभिट्टादेखि इटहरीसम्म सुरु हुनेछ । 
तीन सय मिटरभन्दा लामो पुल रहेको छ स्थानमा सिग्नेचर पुल निर्माण हुनेछन् । 

तीन प्रकारको डिजाइन गरिएको सडक ग्रामीण र जङ्गल भएको क्षेत्रमा २४ मिटर, अर्धसहरी क्षेत्रमा ३३ मिटर र सहरी क्षेत्र तथा मुख्यबजार क्षेत्रमा ५० मिटर चौडाइको हुनेछ ।

आयोजनाले काँकडभिट्टा, इट्टभट्टा, चारआली, बिर्तामोड, दमक, झुम्का, विराटचोक, इटहरीलगायतका नौ वटा घनाबस्ती भएको स्थानमा आकाशे पुल र अन्डर पास निर्माण गरिने जनाइएको छ ।रासस