काठमाडौं / सात वटा राजनीतिक दलहरूले समानुपातिक सांसदहरूको सूची निर्वाचन आयोगमा बुझाएका छन् । 

पार्टी केन्द्रीय समितिको बैठकबाट अनुमोदन गरेर दलहरूले शनिबार प्रतिनिधि सभाका लागि १ सय १० जना र ७ वटै प्रदेश सभाका लागि २ सय २० जना सांसदहरूको नाम सिफारिस गरेका गरेका हुन् ।  

निर्वाचन आयोगले समानुपातिक सांसदको नामावलीमाथि छानबिनको काम आज (आइतबार) बाट सुरु गर्ने भएको छ।

दलहरूले समानुपातिक सांसदहरूको बुझाएको सूची सच्याउन निर्वाचन आयोगले दुई दिनको समय समेत दिएको छ। समानुपातिक सिद्धान्त र क्लस्टर अनुसार नमिलेको नाम सच्याएर बुझाउन आयोगले आइतबार र सोमबारसम्म समय दिएको हो ।

प्रतिनिधि सभामा १ सय १० सिट समानुपातिकबाट निर्वाचित हुने व्यवस्था छ। सङ्घीय संसदमा एमालेले ३४ सिट, नेपाली कांग्रेसले ३२ सिट, माओवादी केन्द्रले १४ सिट, राष्ट्रिय स्वतन्त्र पार्टीले १३ सिट, राष्ट्रिय प्रजातन्त्र पार्टीले ७ सिट, जनता समाजवादी पार्टी र जनमत पार्टीले ५–५ सिट समानुपातिकतर्फ प्राप्त गरेका थिए। 

आयोगले सोमबारसम्म समानुपातिकतर्फका सांसदहरू पनि निर्वाचित भएको घोषणा गरिने बताएको छ । निर्वाचन आयोगले समानुपातिकतर्फबाट सांसद निर्वाचित भएको एक हप्ताभित्र मंसिर ४ गते भएको चुनाव सम्बन्धी सम्पूर्ण प्रतिवेदन राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष बुझाउने तयारी गरेको छ।