काठमाडौं— सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सञ्चार क्षेत्रमा धेरै बेथिति रहेको बताएका छन्।
आदीवासी जनजाती पत्रकार महासंघ (फोनिज)को २५ औं स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा उनले सञ्चार क्षेत्रका बेथिति देख्दा आगोको भुङ्ग्रोमा उभिएको ‘झाँक्री बा’ जस्तै अनुभव भएको टिप्पणी गरे ।
सञ्चार क्षेत्रमा हुने कुनैपनि काममा कानून मिच्ने गरेको र बेतिथि रहेको उनले बताए । उनले अहिले आगोको भुङ्ग्रोमा उभिएको झाँक्री बा जस्तै भएर बसेको तर आगोमा उभिएर ज्यान बचाइ काम गर्ने बताए ।
मन्त्री गुरुङले भने, ‘प्रविधिले युग बदल्दा पनि ६० वर्ष पुरानो कानून बोकेर सरकार हिड्नु परेको छ । सबै कुराको व्यवस्थापनको लागि एक वर्षको समय लाग्छ । मेरो अरु कुनै बजेट छैन धेरै । जम्मा १ अर्ब ५९ करोड बजेट छ । त्यो पनि विश्व बैंकको ६० करोड बजेट छ । टेलिकम,प्राधिकरणको बजेट हुन्छ । त्यसलाई ठिक ढङ्गले परिचालन गर्नुपर्यो।'
इन्टरनेट सर्भिस प्रदायकहरुलाई एउटालाई २० अर्ब अर्कोलाई ३ लाख लगाउने गरेको भन्दै इन्टरनेट सर्भिस प्रदायकहरुको व्यवसाय बढ्दै गएकाले पुनर्विचार गर्न आवश्यक रहेको मन्त्री गुरुङको भनाइ छ।






































