काठमाडौं— पूर्व प्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले नेपालका समस्त श्रमजीवी जनताका मुक्तिका निम्ति तथा अग्रगति, प्रगतिका निम्ति अझ ठुला सफलताहरू प्राप्त गर्न सकियोस् भन्दै अन्तर्राष्ट्रिय श्रमिक दिवसको शुभकामना दिएका छन् ।
श्रमिक वर्गले नै नेपाली समाजको क्रान्तिकारी रूपान्तरण र परिवर्तनको नेतृत्वदायी शक्तिको भूमिका खेल्न सक्ने भन्दै उनले देशमा श्रमिक वर्गले आफ्नो अग्रदूत नेपाल कम्युनिस्ट पार्टी मार्फत नेपालको पुँजीवादी–जनवादी क्रान्तिलाई सफलतापूर्वक सम्पन्न गरिसकेको उल्लेख गरेका छन् ।
देशमा पुँजीवादी क्रान्ति भएको पनि १९ वर्ष भइसकेको भए पनि जनताको आर्थिक अवस्था सुधार हुनुको सट्टा श्रमिक वर्ग माथि दलाल पुँजीवादी शोषण र उत्पीडन झन् झन् चर्को बन्दै गएकोप्रति उनले दुख व्यक्त गरेका छन् ।
उनले भनेका छन्– 'मुलुकको कृषि, उद्योग, शिक्षा, स्वास्थ्य, सामाजिक सुरक्षा लगायत राष्ट्रियताका क्षेत्रहरू संकटग्रस्त बन्दै गएका छन् । श्रमजीवी जनताले शिक्षा, स्वास्थ्य, रोजगारी, बीमा र सामाजिक सुरक्षा मात्र पनि पाउन सकिरहेका छैनन् । त्यसले गर्दा हाम्रो देशका युवा श्रमिकहरू प्रति दिन हजारौँको संख्यामा रोजगारीको खोजिमा विदेश जान बाध्य भइरहेका छन् ।'
श्रमिकमाथि भइरहेका शोषण र उत्पीडनका विरुद्ध ट्रेड युनियनहरूमा अझ घनिष्ठ रूपले एकताबद्ध बन्न र समाजवाद प्राप्तिको दिशामा एकताबद्ध बनाएर अघि उनले श्रमिक वर्गमा आग्रह पनि गरेका छन् ।

                    
                                        
                                                                                                
        








        




























