काठमाडौं— दुवै पार्टी बिच एकता हुने भनिएकै दिन फिल्मशैली पक्राउबारे नाउपाले प्रधानमन्त्रीसंग जवाफ माग गरेको छ । आफ्नो पार्टीका सांसद रेशम चौधरी पक्राउबारे मन्त्रीसंग जवाफ माग गरेको हो ।
सोमबारको प्रतिनिधिसभा बैठकमा सांसद लालवीर चौधरीले भोलिको बैठकमा रेशम चौधरी पक्राउबारे जवाफ नदिए सरकार छाड्ने चेतावनी समेत दिएका छन् ।
‘वैशाख १७ गते नाउपा र जनमत पार्टीको एकता प्रक्रिया अघि बढिरहेका बेला सांसद रेशम चौधरीलाई अपहरण गरेर डिल्लीबजार पुर्याइयो’, चौधरीले भने, ‘जुन पुर्जीका आधारमा उहाँलाई पक्राउ गरियो, त्यसलाई फर्जी भनिएको छ । तर सरकारले जवाफ दिएको छैन । प्रधानमन्त्रीले भोलिको बैठकमा जवाफ दिनु भएन भने हामी सरकार छाड्न बाध्य हुन्छौं ।’
त्यस्तै स्वतन्त्र सांसद अमरेशकुमार सिंहले समेत चौधरी पक्राउ प्रकरण रहस्यमय भएको बताएका छन् । नाउपा र जनमतको एकता घोषणाकै दिन रेशम चौधरी पक्राउ परेपछि पार्टी एकता कार्यक्रम नै विथोलिएको छ ।






































