दमक - नेकपा माओवादी केन्द्र दमकले सुरु गरेको वृक्षरोपण अभियानमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले साथ दिएका छन् । उनले शनिबार दमकमा वृक्षरोपण गरेर दमक माओवादीलाई साथ दिएका हुन् ।


उनले दमक–४ स्थित दाहाल प्रतिष्ठानमा पुगेर फलफूलका विरुवा रोपेका थिए । माओवादी दमकका अध्यक्ष रवि बस्नेतले दिएको विरुवा रोपेर उनले अभियानमा साथ दिएका हुन् । उनले वृक्षरोपण कार्यक्रम राम्रो भएको र यसलाई निरन्तरता दिन निर्देशन दिए । माओवादी दमकले गत वर्षदेखि दमक क्षेत्रमा एक लाख फलफूलका विरुवा रोप्ने अभियान सुरु गरेको छ । गत वर्ष र यो वर्ष गरेर माओवादीले ७१ हजार फलफूला विरुवा रोप्नुका साथै स्थानीयलाई विरुवासमेत वितरण गरिसकेको अध्यक्ष बस्नेतले जानकारी दिए ।


माओवादी केन्द्रले गत वर्ष विशेष अभियान नै बनाएर दमक क्षेत्रमा फलफूलका विरुवा रोप्ने तथा दमकबासीलाई विरुवा उपलब्ध गराउँदै आएको बस्नेतले बताए । उनका अनुसार यस वर्ष पनि १७ जेठदेखि फलफूलका विरुवा रोप्ने र वितरण गर्ने अभियानलाई निरन्तरता दिइएको हो । 

दमक क्षेत्रमा जामुन, अम्बा, कागती, आँप लिची, अनारलगायतका विरुवा रोपिएको छ ।


अध्यक्ष प्रचण्डले अभियानमा साथ दिएपछि वृक्षरोपण अभियानलाई अघि बढाउन थप हौसला मिलेको अभियान संयोजक समुन्द्र लामाले बताइन् । ‘पछिल्लो समय जलवायु परिवर्तनले पर्यावरणमा गम्भीर असर पारेको तसर्थ हामीले वृक्षरोपण अभियान सुरु गरेका हौँ र अध्यक्ष प्रचण्डले विरुवा रोपेर साथ दिएपछि झनै हौसला मिलेको छ,’उनले भनिन् ।

नेकपा माओवादी केन्द्र दमकका अध्यक्ष बस्नेतका अनुसार यस वर्ष २५ हजार विरुवा वितरण गरिने भनिए पनि यसपटक अध्यक्ष प्रचण्ड नै आएपछि ऊर्जा बढेकाले थप संख्या बढाइने उनले बताए । अभियान पुनः सुरु भएयता २१ हजार विरुवा रोपिएको उनले बताए । यसमा सबै दल, संघसंस्थाले साथ दिए ‘ग्रिन दमक, क्लिन दमक’ बनाउन सहज हुने उनले बताए ।

 

माओवादी केन्द्र गत वर्ष दमक क्षेत्रमा माओवादी केन्द्रले ५० हजार बढी फलफूलका विरुवा वितरण गरेको थियो । ती विरुवाले अहिले उत्पादन दिन थालेको माओवादी दमक अध्यक्ष बस्नेतले बताए । ‘उत्पादन दिने विरुवा रोप्दा परिणाम पनि आउँछ । तसर्थ, हामीले फलफूलका विरुवा वितरण गरेका हौँ,’ उनले भने, ‘गत वर्षको विरुवाले उत्पादन दिन थालेपछि हामीलाई उत्साहित बनाएको छ । आउने वर्षमा पनि हामी विरुवा वितरणको अभियानलाई निरन्तरता दिँदै जान्छौँ । अध्यक्ष प्रचण्डले पनि अभियानमार्फत जनतासँग जोडिन निर्देशन दिनुभएको छ ।’